सूचनाको शक्ति - The Power Of Information

        

व्यक्तिगत लगानीमा मनदिल भ्यूटावर निर्माण

दाङ । घोराहीस्थित मनबहादुर पुनका परिवारले रु ४० लाख लागतमा नमः छु गुम्बामा भ्यूटावर निर्माण गरेका छन् । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ ।
‘सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौं,’ पुनले भने । बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिलामात्र सम्पन्न भएको उनले बताए ।
भ्यूटावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उक्त भ्यूटावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यूटावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ ।
भ्यूटावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रूपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताए । ‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरूको अवलोकन गर्ने सकिनेछ,’ अध्यक्ष रोकाले भने । भ्यूटावर निर्माणसँगै नमःछु गुम्बा पर्यटकीय रूपमा विकासमा थप टेवा पुग्ने गम्बा व्यवस्थापन समितिले जनाएको छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतवार ०६:३६