सूचनाको शक्ति - The Power Of Information

        

चार वर्षसम्म पुल निर्माण नहुँदा यात्रुलाई समस्या, ठेकेदारले ध्यान नदिएको गुनासो


दाङ । जिल्लामा निर्माणाधीन पुल समयमै निर्माण नहुँदा यात्रुलाई समस्या हुने गरेको छ । लमही–तुलसीपुरखण्डको बबई, सिस्ने, कटुवा, सेवार, गुज्रे, हापुरे, पत्रे, संक्राम, ग्वार र कालाखोला गरी १० खोलामध्ये बबई, कटुवा, गुर्जे, पत्रे, संक्राम र ग्वारखोलामा पुल निर्माणको काम भइरहेको छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पानीमुनिको पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
जसमा अधिकांश खोला तथा नदीमा पुल निर्माणको काम भइरहे पनि काम भने सन्तोषजनक छैन । पुल निर्माण कतिपय खोलामा ठेकेदारको लापरवाहीका कारण पुलनिर्माणको अवस्था भने लथालिंग रहेको छ । पुल निर्माणको सम्झौता भएको वर्षांै बितिसक्दासमेत अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन नसक्दा आफूहरुले यात्राको क्रममा निकै सास्ती खेप्नुपरेको स्थानीय करवीर पुनले बताए ।
जसले गर्दा वर्षायाममा जनताले सास्ती बेहोर्नुपरेको छ । पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्सन नहुँदा वर्षातको समयमा यातायात सञ्चालनमा समेत समस्या हुने गरेको छ । खोलामा भरपर्दाे डाइभर्सन नहँुदा खाल्डाखुल्डी हुने र सवारी साधन चलाउँदा समस्या हुने गरेको छ । खोलामा पुल निर्माणको लागि पक्की सडक भत्काएको अवस्थामा उपर्युक्त डाईभर्सन नहुँदा सवारीसाधन चलाउँदा समस्या हुने गरेको चालकले बताउने गरेका छन् ।
वर्षातको समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलामा सवारी साधान चलाउन समस्या हुने गरेको चालक पूर्ण वलीले बताए । तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धित ठेकेदारले ध्यान नदिएको नागरिकको गुनासो छ । वर्षाैवर्षसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दुःख दिने निर्माण व्यवसायीलाई राज्यले कारबाही गर्नुपर्ने नागरिकको माग छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०८:३१