सूचनाको शक्ति - The Power Of Information

        

राजमार्गमा सवारी रोक्न नदिन ‘नो पार्किङ्ग’ अभियान


रेनुका गिरी । बुटवल । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले ट्राफिक नियम विपरित राजमार्गमा सवारी साधन रोक्न नदिने अभियान सुरु गरेको छ । राजमार्गमा हुने अव्यवस्थित पार्किङ्गले सवारी आवागमनमा समस्या पारेको भन्दै सहज बनाउन राजमार्गमा नो पार्किङ अभियान सुरु गरिएको हो ।
अव हाइवेमा सवारी साधन रोके वा पार्किङ्ग गरे सवारी साधनमा ह्वील लक गरी कारवाही गरिने पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताए । ट्राफिक व्यवस्थापनका लागि प्रहरीले दुई चरणमा सवारी व्यवस्थापन अभियान सञ्चालनको तयारी गरेको छ ।
पहिलो चरणमा शहरी क्षेत्रमा तत्कालैदेखि लागु हुनेगरी मुख्य बजार क्षेत्रमा हेभी सवारी साधन प्रवेश निशेधलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । पार्किङ्ग स्थलबाहेक सवारी साधन पार्किङ्ग गर्न नदिने अभियान सुरु भएको कार्यालयका प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराए ।
त्यस्तै दोस्रो चरणमा दोस्रो हप्तादेखि प्रदेश पाँचमा पर्ने नवलपरासीको दाउन्नेदेखि बर्दियाको चिसापानीसम्मको हाइवे क्षेत्रमा यातायात व्यवस्थापन अभियान सञ्चालन गर्ने प्रहरीको तयारी छ । त्यस्तै सवारी साधन सञ्चालनका लागि निर्धारण गरिएको गति कायम गराउन पनि प्रहरीले जोड दिएको छ ।
प्रहरीले शहरी क्षेत्रमा हेभी सवारी साधन जस्तै ट्रिपर, ट्रकलाई २० किलोमिटर प्रतिघण्टा तथा साना सवारी साधनलाई ३० किलोमिटर प्रतिघण्टाको दर निर्धारण गरेको छ । सोही अनुसार सवारी साधनको गति कायम राखेर सञ्चालन गर्न पनि सवारी चालकलाई प्रहरी आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार ०७:३२