बाँके । खेतिको काम सकिएपछि कर्णाली प्रदेशका युवाहरुको भारत जाने लर्को लागेको छ । एकै दिनमा करिव सात सय बढी युवाहरु काम खोज्न नेपालगन्ज नाका हुदै भारत जान थालेका छन् । अधिकांश नेपालीहरुले भारतको सिमला र कालापहाडमा कामका लागि जान थालेको बताउँछन् ।
उनीहरु यसरी भारत जान थालेको पहिलो होइन । हरेक वर्ष धान रोपाइँपछि हजारौं नेपाली युवाहरु काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्पराजस्तै बनिसकेको छ । कर्णाली प्रदेशको जाजरकोट, रुकुम, जुम्ला लगायतका जिल्लाका युवाहरुले गाउ“मा रोजगारी नभएको भन्दै भारत जान थालेको सोमबार नेपालगन्ज नाका हुदै भारत जादै गरेका रुकुम मुसीकोट नगरपालिका २ का दिलबहादुर खडकाले बताए ।
नेपाल—भारत सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक सुनिल शाहले भारत जाने नेपालीहरुको संख्या एकाएक बढेको जानकारी दिए । उनका अनुसार नेपालीहरुको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरिएको छ ।
भारत जानेहरूमध्ये मध्यपश्चिमका रुकुम, जाजरकोट, प्यूठान, दैलेख, सल्यान र बाँके जिल्लाका सर्वसाधारण बढी रहेको सीमा प्रहरीले जनायो । त्यस्तै जुम्ला, हुम्लाबाट पनि फाटफुट रूपमा मजदुरीका लागि भारत जाने गरेका छन् । रोपाइँ सकिएपछि भारतमा काम गर्न जानेहरूको संख्या एक्कासि बढेको छ ।
दैनिक सयौं नेपाली कामका लागि देश छोडिरहेका छन्,’ सीमा प्रहरी चौकी जमुनाहाका प्रहरी नायब निरीक्षक शाहले भने, ‘हिमाली क्षेत्रकाले जाडो छाल्ने र व्यापार गर्न भारत जाने गरेको बताउने गरेका छन् ।’ त्यसो त आर्थिक अवस्था कमजोर रहेका यस क्षेत्रका युवा मंसिरयता भारतको कालापहाड, सिमला, गुजरात लगायतका स्थानमा मजदुरीका लागि जाने गरेको स्थानीयले बताउँछन् ।
उनीहरू त्यहाँ मजदुरीका लागि निकै कष्ट झेल्दै चाडपर्वमा मात्रै नेपाल फर्किने गर्छन् । तर यसपल्ट संविधानसभाको निर्वाचनका कारण उनीहरू ढिलो गरी भारत जान थालेको बताएका छन् । उनीहरूले गाउँमा रोजगारी नपाएका कारण विदेसिनु परेको गुनासो गरेका छन् । गाउँघरमा रोजगारीको कुनै अवसर नभएपछि आफूहरु रोजगारीका लागि भारत जाने गरेको जाजरकोट शिवालय गाउापालिकाका मनबहादुर नेपालीले बताए ।
जमुनाहामा भेटिएका नेपालीले गाउँघरमा रोजगारीका लागि कुनै अवसर नहुँदा आफूहरुले भारत जानुपरिरहेको बताए । नेपालीसँगै १३ जनाको समूह भारत जाने तयारीमा थियो । जाजरकोटकै २४ वर्षिय टीकाराम पुनले भने, ‘गाउँमा काम पाइँदैन, भारत नगए घरमा खान लाउन नपुग्ने भएपछि रोजगारीका लागि भारत जान लागेको हुँ ।’ घरपरिवारको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय छोडेर भारतमा काम गर्न जानुपरेको उनले बताए ।
‘देशमा जस्तोसुकै व्यवस्था आएको भए पनि हाम्रा समस्या कसैले समाधान गरेन । पेट पाल्न, परिवार पाल्न भारत नगई हुँदैन अनि के गर्नु ? शिवालयकै करबीर सुनारले प्रश्न गर्दै भने, ‘खेतीबारी थोरै छ । परिवार पाल्नै पर्यो । खेती गरेर मजदुरीका लागि भारत जानै पर्छ । मजदुरीका लागि भारत नगई सुखै छैन ।’ बेरोजगार युवाहरू काम गर्न विदेश हिँडेपछि गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै हुने गरेका छन् ।
।