सूचनाको शक्ति - The Power Of Information

        

पर्याप्त बर्षा नभएपछि बाँकेमा ६० प्रतिशत मात्र रोपाइँ, उत्पादन घट्ने अनुमान

फाइल तस्वीर

फाइल तस्वीर


बाँके । पर्याप्त बर्षा नभएका कारण बाँकेमा धान रोपाइँमा ढिलाई भएको छ । कसानले खल्डाखुल्डीमा रहेको पानी पम्पसेटबाट तानेर सिचाई गरी रोपाइँ गरेका थिए । तर त्यो पनि सुकेपछि रोपाई हुनसकेको छैन । पानी अभावमा रोपाई पहलिएको छ ।
जिल्लामा करिब ३० प्रतिशत खेतियोग्य जग्गामा सिचाइँ हुने गरेको छ । बा“केको पुर्बीउत्तर क्षेत्र राप्ती सोनारी क्षेत्रमा बढी रोपाई भएको छ । तर पश्चिमका खजुरा, बैजनाथ, जानकी गाउपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरका किसानले निकै कम धान रोपाई गरेका छन् । ति क्षेत्रहरुमा सिचाइँको कुनै सुविधा छैन ।
बाँकेका जिल्ला कृषि समन्वय प्रमुख कृष्ण बस्नेतले सिचाइँ अभावमा रोपाइँ ठप्प भएको जानकारी दिए । उनका अनुसार बा“केमा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ । सिचाइँ अभावले रोपाई गर्न नसकेपछि गरामा रहेको धानको ब्याड छिप्पिदै गएको छ । ३० दिन बढीको ब्याडले राम्रो उत्पादन नहुने कृषि अधिकारीहरुको भनाई छ । बा“केमा कुल खेती योग्य जमीनको १५ हजार हेक्टर क्षेत्रफल (३० प्रतिशत) क्षेत्रमा मात्रै सिचाइँ सुविधा छ ।
लगातार बर्षा भएमा साउन दोस्रो सातासम्ममा सबै खेतमा रोपाइँ भ्याउने गरेका किसानहरुले बर्षात् नहुँदा समस्यामा परेको बताएका छन् । रोपाइँ ढिलो भएकै कारण यसबर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ । सिचाईं सुविधा नपुगेको क्षेत्रहरुमा रोपाइँ नहुँदा आकासे पानीको भरमा खेती गर्ने किसानहरुले धान रोप्न नपाउँदा खेतहरु अहिलेसम्म पनि बाँझै रहेका छन् ।
यतिबेला खेतमा असारे गीत घन्काउँदै धमाधम रोपाइँको चटारोमा हुने यहाँका किसान यतिबेलामा बाँझो खेत हेर्दै टोलाउन थालेका छन् । पानी नपरेकाले धेरैतिर रोपाइँ हुन नसकेको हो । खेत बाँझै भएकाले किसानमा उत्साह छैन । राखिएका धानका ब्याड खेतमै सुक्न थालेपछि बाँकेका किसान चिन्तित भएका छन् ।
बाँकेका किसानले राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान लगायत जातको धान खेती गर्दै आएका छन् । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ११:११