सूचनाको शक्ति - The Power Of Information

        

रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि

धनगढी । कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख ४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार ४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२ करोड ६५ लाख मूल्य बराबरका यी वस्तु निकासी भएको जानकारी दिए ।
भन्सार नाकाबाट आव २०७४/७५ मा रु १६ अर्ब ६२ करोड मूल्य बराबरका विभिन्न सामान पैठारी भएका थिए । पैठारी हुने मुख्य वस्तुमा डिजेल, पेट्रोल, ग्यास, बिस्कुट लगायतका छन् । पैठारी हुने वस्तुमध्ये पेट्रोलियम पर्दाले कूल राजश्व संकलनको ५० प्रतिशत, बिस्कुट सात प्रतिशत, कागज चार प्रतिशत र दालमोठ र पापड दुई दशमलव २१ प्रतिशत रहेको थियो ।
गत आव २०७४/७५ मा यो नाकाबाट चामलमात्रै रु ८७ करोड ८१ लाख मूल्य बराबरको १८ हजार ६०० मे टन पैठारी भएको छ । कार्यालयले गत आव २०७४/७५ रु तीन अर्ब ८७ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकामा रु चार अर्ब २१ करोड राजश्व संकलन गरेको छ । यो राजश्व संकलन लक्ष्यको तुलनामा आठ प्रतिशत बढी हो ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०९:१६