सूचनाको शक्ति - The Power Of Information

        

चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटकको संख्यामा वृद्धि

नारायण अधिकारी । चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा एक लाख ५२ हजार ६७१ जना पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०७३/०७४ भन्दा यो १२ हजार ६९३ ले बढी हो । उक्त वर्ष एक लाख ३९ हजार ९७८ पर्यटक निकुञ्ज भित्रिएका थिए ।
निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार आव २०७२/०७३ मा भन्दा २०७३/०७४ मा ५२ हजार ५७८ जना बढी पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । आव २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए ।
निकुञ्जका अनुसार गत आवमा नेपाली ३४ हजार ५०, सार्क मुलुकका १९ हजार ६९६ र विदेशी ९८ हजार ९२५ जना पर्यटकले जंगल सफारी गरेका थिए । तीमध्ये पुरुष ८१ हजार ७९० र महिला ७० हजार ८९१ रहेका थिए । आर्थिक वर्ष २०७३/०७४ मा नेपाली ३६ हजार ५३, सार्क मुलुकका १५ हजार ९०६ र विदेशी ८८ हजार १९ पर्यटकले निकुञ्ज घुमेका थिए ।
तीमध्ये महिला ७० हजार ११७ र पुरुष ६९ हजार ८६१ रहेका थिए । अर्यालका अनुसार आव २०७२/०७३ मा नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६ र विदेशी ५० हजार १९३ जनाले मात्रै निकुञ्ज घुमेका थिए । तीमध्ये महिला ४५ हजार ५७ र पुरुष ४२ हजार ३३४ रहेका थिए ।
हालसम्म सबैभन्दा बढी पर्यटक आव २०७१/०७२ मा निकुञ्ज आएका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सो वर्ष एक लाख ८४ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार निकुञ्जमा संकलन हुने तथ्यांकमा जंगल र डुंगा सफारीमा जाने पर्यटकको मात्रै आउने गर्दछन् ।
यसअघि सफारी गरिसकेर पनि सौराहा आउने पर्यटकको संख्या थप ५० हजारभन्दा बढी रहेको उनले बताए । यद्यपि नारायणगढ–मुग्लिन सडकका कारण लक्ष्यअनुरुप पर्यटक आउन नसकेको व्यवसायीको भनाइ छ ।

राजश्वमा वृद्धि
चितवन राष्ट्रिय निकुञ्जले गत आवमा रु २४ करोड ८१ लाख ९९ हजार ९९८ राजश्व संकलन गरेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पर्यटक शुल्कसहित अन्य शुल्कहरुबाट सो राजश्व संकलन भएको हो ।
अघिल्लो आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको थियो । आव २०७२÷०७३ मा रु १३ करोड १२ लाख २० हजार २५५ राजश्व संकलन भएको थियो । राजश्व संकलनमा क्रमशः बढ्दै गएको छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०३:३३