सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा रु ७० अर्बको औषधि खपत

काठमाडौं । नेपालमा रु ७० अर्ब बराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरूको भनाइ छ । नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रूपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए । नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने बताइन्छ भने बाँकी औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले पछिल्लो समय रु ७० अर्ब बराबरको औषधि बजार रहेको बताए ।
उनले भने, ‘स्वदेशी विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकल लगातयको मूल्य जोड्ने हो भने करीब ७० अर्ब बजार छ ।’ विदेशबाट औषधि आयात गर्नेहरूको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले वार्षिक रु २६ बराबरको औषधि आयात भइरहेको जानकारी दिए ।
उनले नेपालमा भित्रिएको औषधिमध्ये ४० प्रतिशत उपत्यकामै खपत हुने बताए । ‘काठमाडौँमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी काठमाडौं आउने भएकाले पनि काठमाडौँमा ठूलो परिणामको औषधि खपत हुने गरेको उनले बताए । आयातित औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ ।
नेपाल औषधि विभागमा देशभरमा गरी २१ हजार फार्मेसी पसल दर्ता भएका छन् भने छ पाँच हजार बढी फार्मेसीबिना दर्ता नै सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ । नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ ।
नेपालमा वर्षेनी औषधि आयात बढिरहेको छ भने चिकित्सकको सल्लाहबिना जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ । विभागबाट औषधि गुणस्तर लगायतका सबै पक्षमा अनुगमन गरिरहेको विभागका महानिर्देशक ढकालको दाबी छ । रासस

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०३:२२