सूचनाको शक्ति - The Power Of Information

        

व्यावसायिक बन्दै किसान, कृषक लक्षित प्रोत्साहन नीति अभाव

सञ्चिता घिमिरे । ललितपुर । एक दशकअघि जीविकोपार्जनका लागि कतारमा पसिना बगाएका बाँकेका लालबाबु सुनारले अहिले आफ्नै ठाउँमा १७ जनालाई रोजगारी दिएका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर हुँदा कलिलो अवस्थामा पहिले भारत र पछि कतार पुगेका उनी अहिले नेपालगन्ज र आसपासका क्षेत्रमा कृषि पेशाबाट पर्याप्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण नै बनेका छन् ।
केही साता पहिले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका सुनारले आफ्नै १५ कट्ठा जग्गा तथा १० कट्ठा भाडामा लिएर च्याउखेती गर्दै आएका छन् । उनको उत्पादनको मुख्य बजार नेपालगन्ज हो । उनी भन्छन्, ‘अहिले उत्पादन बढ्दै जाँदा त्यसबाहेक अरु बजारमा समेत जान्छ ।’
शुरुका दिनमा सुनार आफैँ साइकलमा बोकेर च्याउ बेच्ने गरेको स्मरण गर्नुहुन्छ । अहिले भने उनी सम्पर्कमा भएका व्यक्तिमार्फत विभिन्न होटल रेष्टुरेन्टमा च्याउ पुर्याउँछन् । उनी भन्छन्, ‘आगामी दिनमा च्याउकै रेष्टुरेन्ट खोल्ने योजना छ ।’ सरकारले कृषिमा लाग्ने युवालाई प्रोत्साहनका लागि नीति नलिएको उनको आरोप छ ।
कृषिमा शिक्षित वा तालीम लिएका युवाको आकर्षण बढ्दो छ । वैदेशिक रोजगारीमा जाँदा दुःख पाएर फर्किएका युवा स्वदेशमै स्वरोजगार बन्न कृषि पेशा रोज्न थालेका छन् । इजरायललगायतका देशमा रोजगारीकै क्रममा कृषि क्षेत्रमा नै काम गरेका युवा विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न थालेका छन् ।
ठूलो लगानीमा धेरै क्षेत्रफलमा कृषि व्यवसाय तथा पशुपालन गर्नेको संख्या पनि बढ्दै छ । गोरखाका राजेन्द्रराज पन्तले स्नातक पास गरेर जागिर खानुभन्दा पशुपालन पेशा रोजे । उनको गोठमा अहिले दैनिक झण्डै एक हजार ६०० लिटर दूध उत्पादन हुन्छ । पन्तले २०५२ सालमा गाईपालन थालेका थिए ।
अहिलेसम्म उनले सरकारको अनुदान लिएका छैनन् । उनी भन्छन्, ‘अनुदानको पछि वर्षाैंसम्म लाग्नुभन्दा आफैँ काम गरेर आम्दानी बढाउन सकिन्छ ।’ गाईपालन र घाँसखेतीसँगै गर्दा किसानले बढी लाभ लिन सक्ने पन्त बताउँछन् । उनी भन्छन्, ‘दाना किनेर खुवाउँदाभन्दा आफैँले घाँस लगाउँदा लगानी कम पर्छ ।’
दानामा विभिन्न अखाद्य सामग्री मिसिएको हुन्छ तर घाँस धेरै खाँदा उपभोक्ताले दूध खान पाउँछन् । उनले ८० प्रतिशत घाँस र २० प्रतिशत पराल, दाना लगायतका कुरा खुवाउने गरेका छन् । व्यावसायिक कृषि र पशुपालन गर्ने व्यक्ति आफूमात्रै रोजगार भएका छैनन् धेरैलाई रोजगारीसमेत दिएका छन् ।
सानो परिमाणमा वा क्षेत्रफलमा गर्दा मुनाफा कम नै भए पनि ठूलो लगानी हुँदा जोखिम र आम्दानी दुवै बढी हुन्छ । मेहनतका साथ काम गर्दा स्वदेशमा नै विदेश जाँदाभन्दा मनग्य लगानी गर्न सकिन्छ भन्ने धेरैले प्रमाणित गरेका छन् । व्यावसायिक कृषि र पशुपालनमा सफल भएका कृषक धेरैका लागि प्रेरणाको स्रोतसमेत बनेका छन् ।
धनुषाका बौएलाल मुखिया माछापालनबाट पर्याप्त आम्दानी गर्दै आएका छन् । उनी अहिले ६५ पोखरीमा माछापालन गरिरहेका छन् । उनी भन्छन्, ‘मेहनत गरेर काम गर्दा सफल भइँदोरहेछ ।’ उनले २०२९ सालमा पोखरी भाडामा लिएर माछापालन शुरु गरेका थिए । यातायातको सुविधा राम्रो नहुँदा मुखिया आफैँ हिँडेर सदरमुकामसम्म माछा बेच्ने गर्थे ।
त्यतिबेला कुरा काट्नेहरु अहिले आफ्नो सफलता देखेर अचम्मित बन्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘काम छाड्न हुँदैन भन्ने सोचेर म लागेको छु ।’ आफ्नो सफलताबाट प्रेरित भएर व्यावसायिक माछापालन धेरैले गर्न थालेका मुखियाले बताए । रासस

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १३:३२