सूचनाको शक्ति - The Power Of Information

        

डिआइजीको संयोजकत्वमा जुम्ला घटनाको छानबिन हुँदै

काठमाडौं । डा गोविन्द केसीको अनसनका क्रममा जुम्लामा गत बिहीबार भएको झडप घटनाको थप अनुसन्धानका लागि डिआइजीको नेतृत्वमा छानबिन समिति बनेको छ । प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेशबिक्रम शाहको नेतृत्वमा समिति गठन गरेको हो ।
डिआइजी शाह नेतृत्वको टोली आइतबार नै जुम्ला पुगेर स्थलगत रुपमा छानबिन अघि बढाएको छ । अस्पतालभित्र भएको बल प्रयोगदेखि जुम्लाका प्रहरी प्रमुख डिएसपी तपन दाहालले घाइते जवानलाई मृत भनेर गलत सूचना प्रवाह गरेको घटनासम्मको छानबिन हुन लागेको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका डा केसीलाई जबरजस्ती उठाएर काठमाडौं लैजान खोज्ने क्रममा झडप भएको थियो । जस क्रममा प्रहरी जवान कमल आचार्य गम्भीर घाइते भएका थिए । उनलाई गोली लागेको वा सिसा लागेको अझै प्रष्ट हुन सकेको छैन ।
प्रहरी संगठनले घटनाको बारेका आन्तरीक छानबिन समिति बनाएको डिआइजी शाहले बताए । समितिमा एसपी केदार रजौले र डिएसपी चुडामणि बुढाथोकी छन् । प्रहरीले अस्पतालभित्र अत्याधिक बल प्रयोग गरेको भन्दै घटनाको छानबिनका लागि माग हुँदै आएको छ । यद्यपी सरकारले विस्तृत छानबिनका लागि चासो दिएको छैन ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार ०५:२३