वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी खर्कहरू घुम्ने मेरो उत्कट रहर पछिल्ला वर्षहरूमा झन् चुलिँदो छ । हुन पनि म आफू गोठमा हुर्के–बढेको भएर पनि हुन सक्छ, मलाई खर्कहरू असाध्यै मन पर्छ । पछिल्लो समय विशेषतः ढोरपाटनका उपल्लो भेगमा अवस्थित खर्कहरू मेरा बिर्सनै नसकिने गन्तव्यस्थल बनेका छन् ।
खर्क भन्नेबित्तिकै खुला चरिचरनको क्षेत्र बुझिन्छ । विशेषतस् मनसुनी सिजनमा उच्च पहाडी तथा हिमाली क्षेत्रका वनजंगल र पाटनहरूमा वस्तुभाउलाई चरिचरनका लागि प्रयोगमा ल्याइएका जमिनको सेरोफेरो नै खर्क हो । खर्क बसाल्दा वस्तुभाउ आफसेआफ एकत्रित हुन सक्ने स्थान विशेषलाई रोजिन्छ । ताकि कहिलेकाहीँ बगाल उछिट्टिएको खण्डमा गोठालोलाई ती वस्तुभाउ जम्मा गर्न सहज होओस् । त्यस्ता खर्कको विशेषता भनेको पानी, घाँसदाउरा जम्मा गर्न पायक हुनुपर्छ । वस्तुभाउको रखालो गर्ने मानिस सँगसँगै ती वस्तुभाउलाई आकर्षण गर्न सक्ने खुला ठाउँ नै वास्तवमा खर्क बन्न सक्ने उपयुक्त थलो हो ।
गोठालो जीवन त्यसै पनि पशुमैत्री हुन्छ । गाई, भैंसी, भेडा, बाख्रा नपालीकन गोठ निर्माण हुँदैन, खर्क बस्दैन । पूर्णरूपले प्रकृतिको आँगनमै विचरण गरिनु नै वास्तवमा गोठालो जीवनको मौलिक शैली हो । त्यसैले गोठालाहरू पानीको मूल, दह, ढुङ्गा, रूख, जंगल, डाँडो, देउराली, हिमाललाई पूजा गर्छन् । यसरी हेर्दा गोठालाहरू आफैंमा प्रकृतिपूजक हुन् । प्रकृतिलाई आमा मात्र ठान्दैनन् जीवनरक्षा गर्ने देवताको रूपमा समेत पुज्छन् ।
गोठालो जीवन नियाल्दा जति सादगी देखिन्छ उत्तिकै दिलदार, सन्तुष्टि र खुसीउन्मुख चरित्र प्रस्टिएको आभास मिल्छ । तिनै गोठ तथा खर्कहरूमा विराट मनको सौन्दर्य देख्न सकिन्छ । बुकी घाँसको भारी बोकेर गोठ फर्कँदै गरेका रामदेवी र दिलमाया यसका जीवन्त साक्षी हुन् । गोठाला बसेका श्रीमान्हरूलाई रासन र्पुयाउन साता दिनअघि घर बोबाङबाट गोठ उक्लिएका ती विश्वकर्माद्वय यत्तिका दिन बितेको पनि भर्खर हिजोको जस्तै लागेको बताए । ‘खर्कमा जुनी काट्नु पनि लेखेर ल्याउनुपर्ने रहेछ बाबु !’ बोझिलो लाग्ने बुकी घाँसको गह्रौं भारी बोकेका यी दुईले एकसाथ मुस्कुराउँदै भने, ‘खर्क उक्लिन पाए त अरू के खोज्नु !’
गत साउनको तेस्रो हप्ता ढोरपाटनका उपल्लो लेकका खर्कहरू पुगेको थिएँ । कोलाहलको सहर छाडेर शान्त लेकाली पाटन घुम्न पाउनुको मज्जा तुलना गरी नसक्नु छ । कुकुरगाडे खर्कबाट सेचुङ खर्कतर्फ देखिने अजीवका दृश्य मेरो मानसपटलमा झल्झली आउँछ । भैंसी गोठालो होमबहादुर अदैमगरले भनेजस्तो उन्मुक्त वातावरणमा स्वतन्त्र भई पेसेवर हुनुजस्तो सुखको जीवन बिरलैले भोग्न पाउँछन् । मैंले सोचेँ, हुन पनि सरल र सतही तथा गहिरो र जटिल भएर जीवनको भेद छुट्याउन कतै धाउन पर्दैन सिर्फ यी र यस्तै गोठालो जीवन नियाल्न खर्कहरूमा उक्लिए पुग्छ ।
हुन पनि प्रकृतिको सबैभन्दा निकट हुनेहरू नै बढी सन्तुष्ट, खुसी र सुखी देखेको छु । जसको लागि गोठालो जिन्दगी जिउनेहरू नै जिउँदाजाग्दा साक्षी छन् । खर्कका हरेक आरोह–अवरोहमा प्रकृतिको सम्मुख नभईकन गाँस पच्दैन, बास पाइन्न र सास फेरिन्न । वनस्पति, जडीबुटी, खोलानाला, जमिनसँग गोठालाहरू अभ्यस्त भइसकेका छन् । अनुशासनलाई पालना गर्नु, इमानदारीलाई पछ्याउनु, कर्मलाई सर्वोपरि ठान्नु, पाहुनालाई गाँसबास दिनुले उनीहरूको सभ्यता कति उँचो छ भन्ने यसै भन्न सकिन्छ । आयु लम्बिनुमा उनीहरूमा स्वतःस्फूर्त सकारात्मक भाव पैदा हुनुले हो ।
एकादिउँसो लसुने खर्कमा भैंसी चराउन बसेका ६७ वर्षीय खड्के भण्डारी आफ्नो गोठालो जीवनप्रति कुनै गुनासो पोखेनन् । बरु आजको यो उमेरसम्म कुनै रोगव्याधिले सताउन नसकेकोमा आफूलाई भाग्यमानी सावित गरे । ‘हावापानीको त के कुरा गर्नु र बाबु ! रोग लाग्ला भन्ने सोच्दै नसोचे हुन्छ,’ खड्के गहिरिन्छन्, ‘बिहान–बेलुका खाने भनेको उही मकैको आतो । वनमा पाइने च्याउ, धकायो, निगालोका टुसा लगायतका सब्जी हुन् । दूध, दही, घिउ त हुने नै भो !’
आश्रयस्थलको रूपमा तयार गरिने गोठघरहरू निकै स्वास्थ्यमैत्री छन् । गोठघरको छानो काठको फलेकले छाइएको मात्रै हुँदैन भुइँभरि पूरापूर फलेकले नै बिछ्याइएका हुन्छन् । उता भेडीगोठालाले खसीबाख्राको रौंबाट बुनिएका फेरुवा गोठघरमा छानोको रूपमा ढाक्छन् भने धुपी, भोजपत्र, हिमाली गुराँस र निगालोका स्याउला ओछ्यानको रूपमा बिछ्याउँछन् । यस्तोमा रत्तिभर धूवाँ र चिस्यानको महसुससमेत हुँदैन ।
मनसुन सिजनको मिति खुम्चिँदै जाँदा फुर्से देउरालीमा भेट भएका मेजलाल विकलाई निरसाइलो लाग्छ । लेकाली पाटनको जस्तो आनन्द हिउँदमा गाउँघरतिर खोजेर नपाइने उनको कथन छ । असोजको दोस्रो हप्तादेखि औलतर्फ झर्दै जाने उनले बताए । मेजलालसँग हामी करिब ४ हजार मिटर उचाइमा गफिँदै गर्दा माथिल्लो डाँडाबाट एक जोडी डाँफे बुरुर्र ओरालोमुखी हान्निए । यसो माथि हेर्यौं, त्यहाँ भेडाको बगाल हामीतर्फ चर्दै आइरहेका थिए । क्षणभरमै भेडाको बगालमा हामी हरायौं । यो बडो गजबको क्षण थियो ।
शब्द/तस्बिर : सुरविन्द्रकुमार पुन/कोसेलीबाट
।