बैतडी । वर्षातको समय जारी रहँदा बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वरका बासिन्दा चिन्तित भएका छन् ।
बैतडीको डिलासैनी गाउँपालिका–५, हरिनगर क्षेत्र र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरको वादीबस्ती जोखिममा छ । नदी किनारमै घर बनाउँदा बाढीको जोखिम बढ्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । हरिनगरमा विसं २०५० मा दार्चुला जोड्ने सडकले गोकुलेश्वर छोएसँगै बगरमा घर बन्ने क्रम बढेको हो । यहाँ करीब चार दर्जन घर बनिसकेका छन् ।
४० परिवार रहेको पारि दार्चुलातर्फको वादीबस्ती पुरानो बस्ती हो । तीमध्ये अधिकांश छ वर्षयता बनेका हुन् । दार्चुलामा पर्ने गोकुलेश्वरमा भने अस्पताल, विमानस्थल, क्याम्पसलगायत सरकारी र निजी संरचना छन् । वादीबस्तीको माथिसम्म तटबन्ध गरिएको छ । वारि बैतडीमा तटबन्ध नहुँदा नदी सर्दै आएको छ ।
‘कतिबेला नदी बजारमा पस्छ सधैँ डर भइरहन्छ,’ स्थानीय व्यापारी सुरेश श्रेष्ठले भने, ‘पारिको तटबन्ध र वारि छेउबाटै घर बनेकाले जोखिम बढी छ ।’ माथिल्लो बस्ती सनगाउँ र देवगाउँबाट आउने पहिरोले अर्को जोखिम थपिएको छ । पहिरोमा सधैँ लेदो बग्ने गरेको छ ।
पहिरोले खोला पुरिएर बजारमा पस्ने खतरा छ । बर्खामा घरको आधा तलासम्म पानी उक्लिने बजार पस्ने बाटोसमेत बन्द हुने गरेको स्थानीय बताउँछन् । वादी परिवारको अन्य ठाउँमा सर्ने विकल्प छैन । दुई परिवारबाहेक कसैको नाममा जग्गा छैन । हिउँदमा अढाइ मिटर बहाव रहने चमेलिया नदी बर्खामा बढ्न थाल्छ ।
बर्खामा छ मिटरसम्म गहिरो बन्ने वर्षामापन केन्द्रको तथ्यांकमा छ । पहाडी क्षेत्र भएकाले माथिल्लो क्षेत्रमा बाढीको पूर्वसूचना संयन्त्र स्थापना गर्न सकिएको छैन । गैरसरकारी संस्थाको सहयोगमा माथिल्लो तटीय क्षेत्रका समुदाय र प्रहरीचौकीमा विपद् पूर्वसूचनाका लागि सञ्चार संयन्त्र राखे पनि प्रभावकारी हुन सकेको छैन ।
स्थानीयतहले पनि जोखिमयुक्त ठाउँमा घर नबनाउने सल्लाह दिनुपर्ने भए पनि बर्सेनी घर बनाउने क्रम रोकिएको छैन । जोखिमयुक्त ठाउँको बस्ती अन्यत्र सार्न पहलसमेत नगरेको स्थानीयको गुनासो छ । खोलाले करीब २०० रोपनी खेत बगरमा परिणत गरेको डिलासैनी–१ का अध्यक्ष अक्कलबहादुर रानाले बताए । पानीको बहावका कारण आएको बाढीले खानेपानीका मुहान, पाइप तथा धारासमेत बगाई दिँदा खानेपानीको समस्या भएको उनले बताए ।
।