तुइनमाथि जीवन जिउनेहरु प्रधानमन्त्रीसँग भेट्दा…, कार्यक्रममै किन रोए प्रधानमन्त्री ? (भिडियोसहित)
।
‘प्रधानमन्त्री सामु आएर बस्न अलि डरलाग्छ जस्तो लागेको थियो । तर फेरि यस्तो सम्झे प्रधानमन्त्री पनि हामी जनता भएर त प्रधानमन्त्री हुनुभएको हो नि । हामी जनता नभए त प्रधानमन्त्री कहाँबाट हुनुहुन्छ । म बोल्छु । दुःख पोख्छु । मन हलुका गर्छु भन्न लाग्यो । दुःख पोख्न पाइयो ।’
रोजिना थापा । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएर पदभार ग्रहण गर्दा नेपाललाई दुई वर्षभित्र तुइनमुक्त बनाउने निर्णयका हस्ताक्षर गरे । प्रधानमन्त्रीको यो घोषणा भएको दुई वर्ष पूरा भइसकेपनि अझै नेपाल तुइनमुक्त हुन बाँकी छ । तर, तुइन विस्थापन गरी झोलुङ्गे पुल हाल्ने अभियान जारी छ ।
झोलुङ्गे पुल निर्माण गर्नुअघि तुइनबाट कठिन यात्रा गर्न विवश जनताको दैनिकीमा परिवर्तन आएको छ । नेपालमा नै पोजिटिभ जर्नालिजम, सोलुसनबेस्ड जर्नालिजम वा कन्स्ट्रक्टिभ जर्नालिनमको अभ्यास गर्दै आएको कथा नेपाल प्रालिले निर्माण गरेको कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’को पहिलो शृङखलामा यही तुईन विस्थापन सम्बन्धी विषय पर्यो ।
जसमा तुइनबाट आफूहरुले खेप्नुपरेको समस्याका बारेमा पीडितहरुले आफ्ना विषय प्रधानमन्त्रीलाई प्रत्यक्ष रुपमा सुनाउने अवसर पाए । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा सहभागी भएर आफ्ना विषय राख्न पाउँदा उनीहरुलाई हल्का भएको महसुस गरे । कार्यक्रममा सहभागी सम्झना बोहोरा भन्छिन्, ‘प्रधानमन्त्री सामु आउन पाउदा आफूलाई एकदमै भाग्यमानी ठानेका छौं । लडेर घाईते भएपनि आफूलाई भाग्यमानी रहेछु भन्ने लागेको छ ।’
‘प्रधानमन्त्री सामु आएर बस्न अलि डरलाग्छ जस्तो लागेको थियो । तर फेरि यस्तो सम्झे प्रधानमन्त्री पनि हामी जनता भएर त प्रधानमन्त्री हुनुभएको हो नि । हामी जनता नभए त प्रधानमन्त्री कहाँबाट हुनुहुन्छ । म बोल्छु । दुःख पोख्छु । मन हलुका गर्छु भन्न लाग्यो । दुःख पोख्न पाइयो ।’
‘प्रधानमन्त्री ज्यूले तुईन हटाईदिन्छु । अन्त्यमा म केहि घाईते र जुन मृतकका परिवारलाई एउटा कोष खोलिदिन्छु त्यसमा केहि सेवा सुविधा यहि गर्छु त भन्नु भएन तर त्यो जम्मा गर्छु चाँहि भन्नुभयो । त्यो राम्रो भयो । यहाँसम्म ल्याईदिनुभयो । आफ्नो दुःख पोख्ने मौका दिनुभयो । यसका लागि धन्यवाद ।’
तुइनको पीडा बयान गरिसाध्य छैन । धादिङ कै विमला श्रेष्ठले आफ्नो पति गुमाउनुपर्यो । पति गुमाउँदा उनका बच्चाहरु सानै थिए । बाध्यताले उनले यो घटना भुल्दै छिन् । तर, जतिबेला तुईनको कुरा आउँछ, त्यतिबेला उनको मन चसक्क घोच्छ । जनतासँग प्रधानमन्त्री कार्यक्रममा तुइनको पीडा उनले सुनाउँनै सकिनन् ।
उनले कार्यक्रमबाट बाहिर निस्किएपछि अनुभव सुनाउँदै भनिन्, ‘मैले बोल्नै सकिन । तर प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउन पाउँदा खुसी लागेको छ । प्रधानमन्त्रीले बोल्नुभएको सबैकुरा दिमाखमा राख्न पनि सकिन । डर लाग्यो । ठूलो पीडा पनि भयो । सबै कुरा राख्न सकिन ।’
तुईनबाट यात्रा गर्दा सम्झना बोहोरा लडेर घाइते भइन् । उनले तुईनको यात्राबारे भनिन्, ‘तुईनको यात्रा धेरै गाह्रो हुन्छ । नदीको माथि लठ्ठा तानेर त्यो माथि काठको डिब्बामा ओहोर दोहोर गरेर दैनिक जीविका टार्न सजिलो पक्कै छैन । म आफैं दुर्घटनामा परेको छु । अब गाउघरमा बसेपछि दैनिक गुजारा टार्न बालबच्चा हुर्काउन देखि लिएर बाटो नै हाम्रो त्यस्तो भएपछि माध्याम नै नभएपछि हामी त्यहिबाट आउनु जानु गर्नुपर्यो । र त्यहि क्रममा मलको भारी बोकेर हामी वारी पारि गथ्र्यौ ।’
प्रधानमन्त्रीसँगको कुराकानी यस्तो थियो :
‘त्यो दिन म एक्लै डिब्बामा चढेर आउने क्रममा डिब्बा मेरो हातबाट फुस्कियो । अनि म करिब ५० फिट माथिबाट झरेर पछाडिका दुईबटा करङ नै भाँचियो । (रुदै) प्रधानमन्त्री : कति अगाडिको कुरा हो, यो ? सम्झना बोहोरा : यो घटना भएको ७–८ वर्ष भयो । प्रस्तोता : कति समय विरामी भएर बस्नुभयो ? सम्झना बोहोरा : एक वर्ष बेडमै घाइते भएर बसे । प्रस्तोता : कस्तो लाग्छ । कतिको गाह्रो हुन्छ तुइनबाट यात्रा गर्न ।
विमला श्रेष्ठ भन्छिन्, ‘बेस्सरी गाह्रो हुन्छ । म भन्नै सक्दिन । बच्चाहरु सानै थिए, त्यतिबेला त्यस्तो भयो, तरकारी बेच्न गएको मेरो श्रीमान् फर्किएर आउनु भएन । बाध्यताले विर्सिन लागे । अहिले भन्न गाह्रो हुन्छ । यो विर्सिसकेको घाउलाई कोट्याएर नुनचुक छर्किएर यतिकै अलपत्र छोडदिएको जस्तो हुन्छ । त्यतिसम्म गाह्रो हुन्छ ।
तुइनको सकस व्यहोरेका पीडितसँग प्रधानमन्त्रीले प्रश्न राखे, ‘अहिले त्यहाँ तुइन छँदैछ कि त्यो तुइन विस्थापित भयो ?’
प्रधानमन्त्रीको प्रश्न खस्न नपाउँदै पीडित सम्झनाले भनिन्, ‘त्यो तुईन घरवाट अलि तल हो । तुइन त अझै छ । हेर्नुस्, उ त्यहि देखाइरहेको छ (टेलिभिजन स्क्रिन देखाउँदैं) । हाम्रो घरबाट १० मिनेट तलको वाटो हो । हामीले हाम्रा दाजुभाई दिदिबहिनी गुमायौं । आफू रोगी भयौं । लडियो, चोटपटक लाग्यो । जीन्दगीभर आइयाआइया गर्नुपर्ने भएको छ । त्यति भएर बाँचे, दिदीबहिनी दाजुभाईते यस्तै यातना भोगिरहेका छन् । हामी किसान हौं । श्रीमान्ले खनजोत गर्नुहुन्छ । हामीले गोडमेल गरेर केहि पैसा होला, बालबच्चालाई पढाउन केहि खर्च होला भनेर जान्छौं । तुइनको यात्रा गर्नुपर्छ । अब बाँच्यौं भने पनि घाइते भएर बाँचिन्छ, बाँचिएन भने सदाको लागि विदा भएर गइन्छ । यस्तो यातना भोगिरहेका छौं ।’
अहिले सो स्थानमा झोलुङ्गे पुल बने पनि स्थानीयले सहजता महसुस गरेका छन् । पीडित भन्छन्, ‘त्यो तुईन हटाईयो । केहि दाजुभाईको ज्यान गयो, म घाइते भएँ । हामीलाई पुल दिनुहोस् भनेर हाम्रा दाजुभाई दिदीबहिनीले माग गर्नुभयो । तुइन भनेको कस्तो ठाउँमा बस्छ भन्ने तपाईलाई पनि थाहा छँदैछ । पानीको भेलमाथि ५०–६० फिटमाथि उठाएर काठको सहायताले झुण्डयाइएको हुन्छ ।’ ‘बलियो छ त बाँचिन्छ । कति साना–साना बच्चाहरु छन् । बच्चाहरुलाई स्कुल जान भनेर हामी काम गर्न जान्छौं । पढ्न त जान्छन् तर बेलुका घर फर्किएर नआउन्जेल के हो, के हो भनिरहुनपर्छ ।’ प्रस्तोता : तपाईलाई आफ्नो प्रधानमन्त्रीसँग केहि सोध्न मन छ ? पीडित : यस्तो घटना अब नहोस् । हामीले जस्तो दुःख अरुले भोग्न नपरोस्, राम्रो होस् । म एउटा प्रश्न राख्न चाहन्छु भन्दै उनले थपिन्, ‘प्रधानमन्त्री ज्यू हाम्रा साना बालबालिका छन् । केहि राहतको व्यवस्था गर्नुहुन्छ की यो एकादेशको कथा हो भनेर छोडिदिनुहुन्छ ? प्रधानमन्त्री : एउटा कुरा बताउँ न तपाईहरुलाई, मैले तुइनको दुःख भोगेको होइन । देखेको हो । मैलै पहिलो निर्णय तुइन हटाउछु भने तर ९ महिनामै म गएँ । धेरै ठाउँमा तुइन विस्थापित गर्न बजेट व्यवस्था गरे । मेरो काम जनताको समस्या सुन्ने थाहा पाउने र समस्या समाधान गर्न हो । यो समग्रताको कुरा हो । तपाईहरुले भेटेपछि समस्या समाधान गर्ने र नभेट्नेको नगर्ने भन्ने हुँदै होइन । सबै समस्यालाई समाधान गर्दै जनताको जीवनमा सहजता ल्याउने भन्ने हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सपना र योजनालाई धेरैले ‘हावा’को संज्ञा दिएर उडाउँछन् । यो कुरा ओलीलाई पनि राम्रैसँग थाहा छ । त्यसैले उनी आफ्ना भाषणमा बेला बेला यस्ता कुरा पनि जोड्न । प्रायः आफ्ना भाषणमा उखान टुक्का, कुनै मुक्ति, रमाइला घटना र सन्दर्भ जोडेर बोल्ने ओलीको भावुकता धेरैलाई थाहा नहुन सक्छ । तर, ओली साँच्चिकै भावुक र गम्भीर पनि छन् । यसको पछिल्लो उदाहरणका रुपमा हाम्रो कथाले तयार पारेको कार्यक्रम जनतासँग प्रधानमन्त्रीको पहिलो भागलाई लिन सकिन्छ ।
बुधबार प्रशारण भएको प्रधानमन्त्री ओलीसँगको संवादमा आधारित उक्त अन्तर्वार्ता ५० मिनेट लामो छ । अन्तर्वार्ताका क्रममा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २ वर्षभित्र तुईनमुक्त नेपाल बनाउने अभियान कति सफल भयो कति भएन ? अहिले के भइरहेको छ ? लगायतका विषय समेटिएको थिए । कार्यक्रम सुरु भएको झण्डै १६ मिनेटमा प्रधानमन्त्री ओलीको आँखाबाट आँशु झर्छ ।
।