सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, सकियो ७५ प्रतिशत ‘लेभलिङ’को काम  


कुमार चौलागाई/कल्पना पौडेल । काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७० किलोमिटरमा लेभलिङको काम सकिएको छ ।

टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गरेको थियो । अब ५५ किलोमिटर लेभलिङ गर्न मात्र बाँकी छ । गत माघ १५ गते लेभलिङका लागि पहिलो प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पुगेको थियो । भारतदेखि मदारसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले र त्यहाँबाट नेपाली टोलीले गरेका थिए ।
गत माघदेखि दुईवटा प्राविधिक टोलीले लेभलिङको काम शुरु गरेको र १७० किलोमिटरको काम सक्याएर दुबै प्राविधिक टोली गत असारको दोस्रो साता काठमाडौँ फर्किएको हो । टोली काठमाडौँ फर्किएपछि यतिखेर विभागमा अहिलेसम्म संकलित तथ्याँकको विश्लेषण गर्ने काम भइरहेको छ ।
डंगोलले भने, ‘विभागले जिपिएस र लेभलिङका लागि छुट्टै टोली परिचालन गरेको थियो । जिपिएसमा टोली प्रमुखसहित १७ जना र लेभलिङका लागि १२ जना प्रविधिज्ञ सहभागी थिए । अहिले हामी गत वर्षको डाटा प्रोसेसिङमा लागेका छौँ, यसको फाइलन आउटपुट निकाल्छौँ र वर्षायाम सकिएलगत्तै फिल्डमा मुभ हुन्छौँ ।’
मापनमा प्राविधिक सहयोग गर्न न्युजिल्यान्डका भूगर्भविद् प्रो किस्टोफ पियर्स अहिले नेपालमै छन् । उनले एक महिनासम्म प्राविधिक टोलीलाई स्वयंसेवकका रूपमा प्रशिक्षण दिनुहुने प्रमुख डंगोलले जानकारी दिए ।
यस वर्ष १५ करोड बजेट
सरकारले सगरमाथा मापनका लागि पर्याप्त बजेट विनियोजन गरेका कारण यसवर्ष मापन कार्यले तीव्रता पाउने अपेक्षा गरिएको छ । चालुु आर्थिक वर्षमा यस कार्यका लागि विनियोजित रु १५ करोड बजेटले मापन कार्यलाई निर्विध्नपूर्वक अघि बढाउन सहयोग पुग्ने नापी विभागको भनाइ छ ।
विभागका अनुसार यस वर्षको बजेटबाट फिल्डको कामसँगै मापनका लागि आवश्यक ग्राभिटी मेसिन खरिद गर्ने काम हुन्छ । खरिद प्रक्रियाका लागि विभागले तयारीसमेत थालिसकेको छ । विभागसँग रहेको पुरानो ग्राभिटी मेशिन बिग्रिएका कारण नयाँ किन्न परेको हो ।
मापन २०१९ भित्र सक्ने लक्ष्य
विभागले अहिलेकै अनुपातका काम अगाडि बढाउन सकिए सन् २०१९ को अन्तसम्म मापनको कार्य सक्ने जनाएको छ । विभागसँग ६० वर्षको अनुभव छ । नयाँ प्रविधि अपनाउन सक्ने जनशक्ति दक्षसमेत रहेकाले निर्धारित समयमै काम सक्ने विभागको दाबी छ ।
विश्वको सर्वोच्च शिखरका रूपमा प्रख्यात सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारत लगायतका मुलुकले गरेको मापन अन्तरर्राष्ट्रियरूपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।
मापन कार्य शुरु गर्नु अघि विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, संयुक्त राज्य अमेरिका, इटालीलगायत देशका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार गरेको थियो ।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन ।
विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । हालसम्म त्यस्ता ४९ वटा बिन्दु मापन टोलीले फेला पारिसकेको छ ।
मापनका तीन विधि 
विभागले उचाइ नाप्न तीनवटा विधि प्रयोग गर्दैछ । ‘डाइरेक्ट मिजरमेन्ट’ अन्तर्गत प्रत्यक्षरूपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिन्छ । त्यस्तै, ‘ट्रेंगुलेशन’ विधिबाट पनि उचाइ नाप्न सकिन्छ जसअनुसार निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिन्छ ।
हाल प्रमाणित सगरमाथाको उचाइ यही विधिबाट नापिएको हो । तेस्रो विधि हो, गुरुत्वलाई आधार बनाउने । जिपिएस प्रणालीबाट पनि उचाइ मापन हुन्छ । सन् २००५ मा चीनले यही विधिबाट सगरमाथाको उचाइ नापेको थियो । त्यतिबेला चीनले सगरमाथाको उचाइ आठ हजार ८४४ मिटर आसपास निकालेको थियो । तर, त्यसले अन्तरर्राष्ट्रिय मान्यता पाउन सकेन ।
सगरमाथालाई सन् १९४९ र १८५० मा सर्भे अफ इन्डियाले मापन गर्दा उचाइ आठ हजार ८४० मिटर निर्धारण गरिएको थियो । सन् १९५४ मा एसओआइका बिएल गुलाटीले मापन गर्दा आठ हजार ८४८ मिटर र सन् १९७५ मा तिब्बततर्फबाट चाइनिज ब्यूरो अफ सर्भे एन्ड म्यापिङले मापन गर्दा आठ हजार ८४४.४३ मिटर उचाइ रहेको जनाएका थिए ।
सन् १९९९ मा बोस्टन म्युजिएम अफ साइन्सका प्रो ब्रड बार्सबनले पहिलो पटक जिपिएस प्रविधिको प्रयोग गरी मापन गरे र त्यसबखत आठ हजार ८५० मिटर रहेको तथ्य अघि सारियो । अहिलेसम्म नेपालले आइएसओले मापन गरेको आठ हजार ८४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १२:१७