बुटवल । अखिल नेपाल फुटबल संघ एन्फाको प्रदेश नम्बर ५, ६ र ७ को संयुक्त भेला, प्रदेश स्तरिय अन्तरक्रिया र दुई दिने कार्यशाला गोष्ठी बुटवलमा चलिरहेको छ । हिजोदेखि सुरु भएको गोष्ठीमा प्रदेश नम्बर ५, ६ र ७ का जिल्ला फुटबल संघ, क्षेत्रिय समिति र केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने सदस्य तथा पदाधिकारीहरु गरि ६६ जनाको सहभागिता रहेको छ ।
एन्फाको आगामी कार्यनिति निर्माण, विधान संसोधन, कर्मचारी नियमावली र प्रादेशिक संरचना सम्बन्धि छलफल गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले खेलकुद नै युवा सशक्तिकरणको प्रमुख आधारशिला भएको बताए ।
पाँच नम्बर प्रदेशका ११ वटा स्थानिय तहमा खेलकुद मैदान निर्माण गर्ने योजनाका साथ बजेट बिनियोजन गरिएको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले ४ वटा उपमहानगरमा प्रदेश स्तरिय रंगशाला निर्माण गरिने पनि बताए ।
अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्मा शेर्पाले नेपालको फुटवलको बिकासमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिँदै बजेट अभावमा खेलकुद र खेलाडीको बिकास अवरुद्ध हुने पद्धतीको अन्त्य गरिनुपर्ने बताए ।
।