सूचनाको शक्ति - The Power Of Information

        

गायिका आनीले प्रधानमन्त्रीलाई दिइन् तुइन विस्थापनका लागि एक करोड 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छन् । नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको गएराति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् ।

उनले उक्त रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गरिन् । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिइन् । गायिका शेर्पाको ‘फूलको आँखामा फूलै संसार’ गीत लोकप्रिय छ ।

सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गरे । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७५, बिहीबार ०१:०८