सूचनाको शक्ति - The Power Of Information

        

बुटवलको मुख्य बजार क्षेत्रको सडक तथा नाली स्तरोन्नति गरिँदै


रेनुका गिरी । बुटवल । प्रदेश पाँचको राजधानी बुटवलमा असार महिना लागेसँगै बजेट सक्काउने उद्देश्यले तीब्र पारिएको विकास निर्माणका कामले अझै सार्थकता प्राप्त गर्न सकेको छैन । सडक तथा नाली निर्माण, खानेपानी तथा ढल निकास लगाएतका असार महिनामा शुरु गरिएका विकास निर्माणका कार्यहरु अहिले अलपत्र जस्तै रहेका छन् ।
स्थानीयका अनुसार असार महिना लागेसँगै चालु आर्थिक वर्षको अन्त्यमा बजेट निकासा भएका कारण बुटवलमा विकास निर्माणले तीब्रता पाएको थियो । बुटवलको मुख्य बजार क्षेत्र अमरपथ, संगमपथ, विकासपथ लगायतको सडक तथा नाली बिस्तार एवं स्तरोन्नति गर्ने काम युद्धस्तरमा भैरहेको छ । कुल जम्मा साढे ३ किमि लम्बाई बराबरका ति सडक तथा नाली निर्माणका लागि ३ करोड ५० लाख रकम बिनियोजन भएको जनाइएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४, ५ र ६ मा पर्ने ति सडकहरुमा आरसिसी ढलानसहितको नाली निर्माण र सडकको स्तरोन्नति गर्ने कार्य भैरहेको वडा नम्बर ५ का अध्यक्ष तेजप्रसाद बिश्वकर्माले बताए । बिगत लामो समयदेखि ब्यस्त बजार क्षेत्रका सडक र नाली मर्मत नहुँदा स्थानीयले निकै समस्या भोग्नु परेकोले स्थानीयकै माग बमोजिम निर्माणको कामलाई तीब्रता प्रदान गरिएको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १३:०९