सूचनाको शक्ति - The Power Of Information

        

तीन महिनाभित्र सबै प्रदेश कार्यालय व्यवस्थापन गरिसक्ने प्रदेश सरकारको निर्णय

रेनुका गिरी । बुटवल । प्रदेश नम्बर पाँचको सरकारले आगामी तीन महिनाभित्र सबै सरकार र मन्त्रालयका प्रदेशस्तरिय ईकाइ कार्यालयहरुको व्यवस्थापन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरिय कार्यालयहरु स्थापना नहुँदा प्रदेशको काम प्रभावकारी हुन नसकेको भन्दै यथासीघ्र प्रदेशस्तरिय कार्यालय स्थापनामा जुट्ने निर्णय गरिएको हो ।
प्रदेश सरकारको बैठकले प्रदेश सरकार मातहत रहने निर्देशनालय, बिभाग, महाशाखा, शाखा र ईकाइहरुको प्रबन्ध आगामी तीन महिनाभित्र गरिसक्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बताए । कृषि पर्यटन र उद्योग प्रदेशका समृद्धिका आधार भएको ठहर गर्दै मन्त्रीपरिषदले आवश्यक पूर्वाधार विकासमा लगानी गर्ने निर्णय भएको पनि उनले बताए ।
कार्यालय व्यवस्थापनसँगै प्रदेश सरकारका र मन्त्रालयहरुका मातहत रहने कार्यालयहरुका लागि भवन व्यवस्थापन लगायतका कार्यहरु पनि तत्काल शुरु गरिने प्रवक्ता चौधरीले बताए । प्रदेश सरकार अन्तरगतका बिभिन्न मन्त्रालयहरुका लागि समेत आवश्यक भौतिक पूर्वाधारको व्यवस्थापन गर्न बजेट बिनियोजन भैसकेको समेत उनले जानकारी गराए ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १३:०४