सूचनाको शक्ति - The Power Of Information

        

पर्याप्त आम्दानी हुने भएपछि कृषक जडीबुटीखेतीतर्फ आकर्षित


सल्यान । जिल्लामा कृषक जडीबुटीखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडीबुटीखेती गर्न थालेका हुन् ।
कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनमा लागेका छन् ।
छत्रेश्वरी गाउँपालिका–२ स्थित रुपान्तरण जडीबुटी कृषक समूह र लालीगुराँस जडीबुटी कृषक समूह बनाएरै कृषकले जडीबुटी उत्पादन शुरु गरेको छत्रेश्वरी गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताए । ‘गत आवमा टिमुरको मूल्य उच्च भएकाले यसवर्ष कृषक टिमुर तथा अन्य जडीबुटी खेतीतर्फ आकर्षित भएका छन्,’ उनले भने ।
कृषकले एक क्विन्टल टिमुर रु ६० हजारभन्दा बढी मूल्यमा बिक्री गरेका छन् । ‘परम्परागतरुपमा गरिएको खेतीले गर्जो टार्न गाह्रो भयो, टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि एक बिघाभन्दा बढी जग्गामा टिमुरखेती गरेको छु,’ वडाध्यक्ष खड्काले भने । टिमुरखेतीका लागि गाउँपालिकाबाट बजेट विनियोजन गरेको उनले बताए ।
समूहमा टिमुर लगाउने निर्णय गरेर खेती शुरु गरिएको रुपान्तरण जडीबुटी कृषक समूहकी अध्यक्ष कमला केसीले बताइन् । प्रत्येक सदस्यले वर्षमा डेढदेखि दुई क्विन्टलसम्म टिमुर उत्पादन गर्छन् । लालीगुराँस जडीबुटी उत्पादन समूहका ३२ कृषकले जडीबुटी खेतीबाट पर्याप्त आम्दानी गरिरहेको अध्यक्ष हीरालाल वली बताउँछन् ।
समूहमा आबद्ध सबैले ५० किलोदेखि २०० किलोसम्म टिमुर उत्पादन गरिरहेका छन् । जिल्लामा उत्पादन हुने टिमुर र रोजमेरीलाई प्रशोधन गरी तेल निकाल्न जिल्लामै उद्योग खुलिसकेको छ । झण्डै रु एक करोडको लागतमा श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापना भएको छ । जडीबुटी खरिद बिक्री गर्न जिल्ला वनस्पति कार्यालय र स्थानीय तहको पहलमा उद्योगसँग कृषकको सम्झौता भएको छ ।
पाँचवटा जडीबुटी कृषक समूहलाई जिल्ला वन कार्यालयले टिमुरखेतीका लागि आवश्यक औजार र सामग्री वितरण गरेको सूचना अधिकारी कृष्ण पुनले बताए । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिरसम्म टिमुर संकलन गरिसक्नुपर्छ । संकलित फललाई घाममा सुकाउनु पर्छ । जिल्लाबाट गत आवमा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्ला बाहिर बिक्री गरिएको थियो । टिमुरबाट रु २५ लाख ४६ हजार राजश्व संकलन भएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १२:३७