सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा लागुऔषधले बढायो अपराध

रेनुका गिरी । रुपन्देही । बुटवल क्षेत्रमा लागुऔषध सम्बन्धी अपराध बढ्दो अवस्थामा रहेको देखीएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा मात्र लागुऔषध सम्बन्धी ८४ वटा मुद्दा इलाका प्रहरी कार्यालयले दर्ता भएको छ ।
यो अघिल्लो आर्थिक वर्षभन्दा १० वटाले बढी हो । २०७३/०७४ मा ७४ वटा मुद्दा दर्ता भएको थियो भने २०७२/०७३ मा ४४ मात्र रहेको थियो । लागुऔषध अन्तरगत ४४ जना पूरुष र ३ जना महिलालाई थुनामा राखी अहिले मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
असार यतामात्र ९ लागुऔषधका मुद्दा दर्ता भएको उनले बताए । इलाका प्रहरी कार्यालयले गरेको गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा विभिन्न लागुऔषध समेत बरामद गरेको छ । जस अनुसार ब्राउन सुगर १०६ ग्राम, गाँजा ६ केजी ७०० ग्राम, सेरिजेक १ हजार ४४३ सिसी, नुफिन २ हजार सात सिसी बरामद गरेको जानकारी गराइएको थियो ।
त्यसैगरी एक वर्षको अवधिमा डाइजेपाम फेरारगन, टालिजेसिक, नाइट्रोसन लगायतका लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । लागुऔषधका गतिविधि रोक्न जनचेतना अति आवश्यक भएको डिएसपी मल्लले बताए ।
गत आर्थिक वर्षको अवधिमा कर्तव्य ज्यानको ७ वटा, ज्यान मार्ने उद्योगका ६, र भवितव्य ज्यानका ६४ वटा प्रहरीमार्फत मुद्दा दर्ता भएका छन् । त्यस्तै बहुविवाहका १५, जबरजस्ती करणीको १५, जबरजस्ती करणी अन्तरगतको १३ र मानव बेचविखन ओसारपसारका ६ वटा मुद्दा इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता भएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १२:०५