सूचनाको शक्ति - The Power Of Information

        

पछि परेका नागरिकको उन्नति आवश्यक : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पछि परेका नागरिकको विकास नभई मुलुकको समृद्धि र विकास हुन नसक्ने बताएका छन् । सुर्खेत गुर्भाकोट नगरपालिकास्थित शुभाकोटमा आज लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालद्वारा आयोजित ‘अल्पसंख्यक पिछडा समुदायका लागि सौर्य ऊर्जा’ वितरण कार्यक्रममा उनले भने, ‘पछि परेका नागरिकलाई राज्यको मूल प्रवाहमा ल्याउन आवश्यक छ ।’
‘विकासको बाधक भ्रष्टाचार मुलुकका लागि प्रमुख चुनौती बनेको छ, यसलाई निर्मूल गर्न जनताको साथ आवश्यक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘वैज्ञानिक योजना निर्माण गरी यस प्रदेशमा पाँच वर्षपछि ‘पिछडा’ भन्ने शब्द हटाइनेछ ।’ उनँले कुनै पनि क्षेत्रको सन्तुलित विकासका लागि नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै जोखिम बस्तीहरुलाई जोखिममुक्त बनाउन मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि सारिएकाले अब यहाँ कोहि पनि गरिब भएर बस्नु नपर्ने धारणा व्यक्त गरे ।
मुख्यमन्त्री शाहीले राजी समुदायमा घरबास (होमस्टे) सञ्चालन गर्न प्रदेश सरकारले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उनले भने, ‘तपाईं सबैले आफूलाई कमजोर छु भन्ने नठान्नोस्, सरकार साथमा छ ।’ भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्रीले राजी बस्तीलाई विशेष क्षेत्र घोषणा गर्न पहल थालिने बताए ।
प्रदेशसभा सदस्य ठम्मर विष्टले गरीब, अल्पसंख्यक, सीमान्तकृत र तल्लो वर्गको न्यायका लागि यो व्यवस्था आएको बताउँदै यो क्षेत्रमा बस्दै आएका राजी, कुसुण्डा, बोटे, माझी, दलित र गरीबहरुको जीवनस्तर उकास्ने प्रकृतिका कार्यक्रममा जोड दिन सरकारलाई आग्रह गरे ।

चार सय घरपरिवारमा सौर्य ऊर्जा
उक्त कार्यक्रममा बोटे समुदायका ३५, कुसुण्डाका पाँच, वादी र गाइने समुदायका १००/१०० गरी गरीब तथा विपन्न घरपरिवारलाई कूल चार सय सौर्य ऊर्जा वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको सहयोगमा आज चार सय घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर राजीले जानकारी दिए ।
सुर्खेतका नौ स्थानीय तहका दुई हजार २८५ घरधुरीलाई सौर्य ऊर्जा वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राजीले बताए । उनका अनुसार आज गुर्भाकोट नगरपालिकाका मेहलकुना, दहचौर, घुमखहरे, सहारे, धारापानी र मालापानी बस्तीका लोपोन्मुख, सीमान्तकृत, अल्पसंख्यकहरुलाई सौर्य ऊर्जा प्रदान गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार ००:३५