सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरको बजेट ४० करोड ३१ लाख, पूर्वाधार निर्माणमा मात्रै ११ करोड

बाँके । नरैनापुर गाउँपालिकाको गाउँसभाले आर्थिक वर्ष २०७५/०७६ को बजेट तथा कार्यकम पारित गरेको छ । गाउँपालिकामा सोमबार सम्पन्न दोस्रो गाउँसभाले नीति तथा कार्यक्रमका आधारमा रु ४० करोड ३१ लाखको बजेट पारित गरेको हो ।
गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहका अनुसार बजेटले पूर्वाधार विकास, गरीबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, कृषिको आधुनिकीकरण, वातावरण संरक्षण, मौलिक संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम, सार्वजनिक प्रशासन र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको छ ।
पूर्वाधार निर्माणका लागि रु ११ करोड, सौर्य ऊर्जाका लागि रु तीन करोड, स्वास्थ्यमा रु ८२ लाख, कृषि र पशुपालनका लागि रु ६२ लाख, विद्यालयको भौतिक सुधारका लागि रु एक करोड २० लाख र लैङ्गिक समानता तथा समावेशीकरणका लागि रु एक करोड विनियोजन गरिएको छ ।

हरियाली कार्यक्रम
वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन कार्यालयको तथ्याङ्कअनुसार, बाँकेको नेपालगन्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिकामा वन क्षेत्र कम छ ।
ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत वृक्षरोपण र सचेतीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताए । कार्यक्रमअन्तरगत निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगन्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन विस्तार गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ श्रावण २०७५, मंगलवार ०९:१८