इन्द्रजीत अधिकारी
भगवतीमाई गाउँपालिका–४, दैलेख
(हाल जापानबाट)
प्राकृतिक प्रकोप मानवले निम्त्याएर निम्तने हैन,तर हाम्रो ब्यवहार, सोच अनि पूर्वाधार विकासले अझ कठिन या सहजपना निम्त्याउने भन्ने कुरा हो । पानी पर्नु, डुवान हुनु तत्कालिन राज्यको संलग्नता नहुन सक्छ, तर राज्यले प्रकोपपछि गर्ने उद्दार, दिर्घकालिन संरचना निर्माण र राहत तथा छक्षतिपूर्तिमा देखाउने तदारूकताले नागरिकप्रति उत्तरदायी राज्य सञ्चालनको पहिचान झल्काउँछ ।
विपदपछि नेपालमा हुने अभ्यास
सरकार सञ्चालनपछि एकदमै रक्षात्मक बन्छ । हाम्रो पालमा मात्रै नभएर प्रतिपक्षीमा रहेको पार्टीको काम पनि हेरिएको हो जस्ता प्रतिक्रिया दिन्छ । पुराना पुराना कुरा खोतलिन्छन्, यो उनीहरूको तुलनामा खासै ठुलो कुरा होइन जस्तो प्रतिक्रिया आउँछन्, सरकारपछि पीडितका आवाजमा प्रतिपक्षको गन्ध ठान्छ ।
अनि प्रतिपक्षहरू भए नभएका घटनहरूलाई समेटेर समाचार शेयर, लाइक, कमेण्ट अनि सरकारको अनुपस्थितिको प्रचारप्रसारमा ब्यापक लागिपर्छन्, पीडितहरू अझ पीडित बनिरहन्छन् । काम शुन्य, केहि समयमा अर्काे घटना सतहमा आइपुग्छ । सबै जान्ने, बुझ्ने, सुन्ने मान्छेहरू त्यता दौडिन्छन्, पीडिहरू जस्ताको तस्तै हुन्छ ।
विकसित देश, जापान जस्तो ठाउँमा हुने अभ्यास
विपदपछि नागरिकले प्रत्यक्ष राज्यको उपस्थितिको अनुभूति पाउँछन् । उद्दार, विपद ब्यवस्थापन, राहत अनि क्षतिपूर्तिजस्ता कार्य क्रमबद्ध रूपमा हुँदै जान्छन् । सरकारको अनुपस्थिति या राहत कार्यमा ढिलाईको नागरिकबाट एकदमै न्यूनस्तरमा बिरोध या आलोचना हुने गर्छ । सबै मिलेर तेरो मेरो नभनेर विपदको सामना गर्नतिर लाग्छन् ।
किन यसो हुन सक्दैन नेपालमा ?
काम कम, कुरा बढि गरेर जस लिन खोज्ने परिपाटीले मलजल पाउँदै आइरहेको छ । कुनै ठाउँ या एकान्तमा बसेर निरन्तर काममा खटिरहने मान्छेभन्दा हामीलाई दिन प्रतिदिन नयाँ भनिने र मानिने विकासवादी चिल्ला भाषण प्रिय अनि क्रान्तिकारी लाग्छन् । प्रगतिवादी अनि विकासवादी पनि रातारात उथलपुथल हुने कुरामा विश्वास बढ्दो देखिन्छ । अनि यो वाद र उ वादले प्रशय पाउँछ । कामभन्दा पनि को कति क्रान्तिकारी र प्रगतिवादी भन्ने कुराले देशदेखि अन्तर्राष्टिय स्तरसम्म हल्ला फैलिरहेको पाइन्छ ।
।