सूचनाको शक्ति - The Power Of Information

        

लक्ष्यअनुसार आज २३ अर्ब रुपैयाँ राजस्व संकलन गर्नैपर्ने दबाब, कूल बजेटको ८१.२४ प्रतिशत बजेट खर्च


काठमाडौं । चालू आर्थिक वर्ष २०७४/०७५ को कूल सरकारी खर्च अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको संशोधित अनुमानको हाराहारीमा हुने भएको छ । चालू आव सकिने दिनमात्र बाँकी रहँदा कूल बजेटको ८१.२४ प्रतिशत बजेट खर्च भएको हो ।
अर्थमन्त्री खतिवडाले आगामी आवको बजेट विनियोजन गर्ने क्रममा पूर्वसरकारले गरेको विनियोजनको ८१.८ प्रतिशत (१० खर्ब ४६ अर्ब रुपैयाँ) खर्च हुने संशोधित अनुमान गरेका थिए । चालू आवको अन्तिम दिन बाँकी रहँदा अर्थमन्त्री खतिवडाले गरेको अनुमानअनुसारको बजेट खर्च हुन ७ अर्ब रुपैयाँ मात्र बाँकी छ ।
विनियोजन गरिएको बजेटको आधारमा हेर्दा चालू आवमा भएको भुक्तानी अवस्था भने नाजुक छ । आव २०७४/०७५ मा सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म १० खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ भुक्तानी भएको हो । महालेखा नियन्त्रण कार्यालयका अनुसार आइतबार साँझसम्म सरकारको ढुकुटीबाट भएको भुक्तानीमध्ये ६ खर्ब ९१ अर्ब ६० करोड रुपैयाँ चालूतर्फ, २ खर्ब ३८ अर्ब २० करोड रुपैयाँ पुँजीगततर्फ र १ खर्ब ९ अर्ब ८६ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको हो ।
यो खर्च सोही शीर्षकमा गरिएको खर्च विनियोजनको क्रमशः ८८.०७, ७१.०७ र ७७.९ प्रतिशत हो । यता, सरकारी खर्चले संशोधित अनुमान भने नाघ्ने देखिएको छ । आगामी वर्षको बजेट विनियोजन गर्ने क्रममा अर्थमन्त्री खतिवडाले १० खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने भनेपनि अन्तिम दिन बाँकी रहँदा ७ अर्ब कम देखिएको हो । तर, पछिल्लो दुई साताको ट्रेन्ड हेर्दा यो सहजै पुरा हुने देखिन्छ । यसअवधिमा दैनिक १० अर्बको हाराहारीमा भुक्तानी भइरहेको छ ।
संशोधित अनुमानअनुसार यो वर्ष २ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ पुँजीगत खर्च हुने भनिएको थियो । यसको अर्थ अन्तिम दिनमा ४४ करोड रुपैयाँ मात्र खर्च हुनपर्नेछ । त्यसैगरी, चालूतर्फ यो वर्ष ६ खर्ब ९९ अर्ब ८७ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको थियो । यसको अर्थ चालूतर्फ अन्तिम दिनमा ८ अर्ब रुपैयाँ खर्च हुनपर्नेछ ।
पछिल्लो समयमा भएको औसत खर्चको अनुमानमा पनि बजेट भुक्तानी हुने हो भने आर्थिक वर्ष समाप्तिसम्म हुने भने संशोधित अनुमान भेट्टाउने पक्का छ । पछिल्लो २ सातामा चालूतर्फ साढे ३ अर्ब प्रतिदिन खर्च हुने गरेको छ भने पुँजीगततर्फको खर्च ४ अर्ब प्रतिदिन छ । यसअर्थमा अन्तिम दिनको खर्चले संशोधित अनुमान पनि नाघ्ने पक्का छ ।
यता, वित्तीय व्यवस्थातर्फको खर्च भने संशोधित अनुमानभन्दा बढी भइसकेको छ । संशोधित अनुमानअनुसार यस शीर्षकमा भएको विनियोजनको ७७.२ प्रतिशत खर्च हुने अनुमान गरिएकोमा शनिबार साँझसम्म ७७.९ प्रतिशत खर्च भइसकेको छ ।
यसो त अर्थमन्त्री डा. खतिवडाले चालू आवको बजेट खर्चबारे गरेको अनुमान यो पहिलो भने थिएन । यसअघि गत चैतमा पनि खतिवडाले विनियोजनको कूल ८४.६७ प्रतिशत अर्थात् १० खर्ब ८३ अर्ब रुपैयाँ सरकारी खर्च हुने अनुमान गरेका थिए । पूर्व अर्थमन्त्री कृष्णबहादुर महराले अघिल्लो जेठमा बजेट विनियोजन गर्दै चालू आवमा १२ खर्ब ७८ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरेका थिए ।
महराको यो अनुमानमा स्रोत अपुग हुने देखिएपनि वर्तमान अर्थमन्त्री डा. खतिवडाले प्रत्येक शीर्षकमा गरिएको विनियोनको चालूतर्फ ९१.९६ प्रतिशत, पुँजीगततर्फ ७० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने अनुमान गरेका थिए । यो वर्ष पनि अन्तिम साता ठूलो मात्राको बजेट निकासा हुने पक्का छ । वर्षको अन्तिम समयमा निर्माणतर्फ हुने ठूलो मात्राको भुक्तानीले यसवर्ष पनि अन्तिम सातामा हुने खर्चको क्रमले निरन्तरता पाउने देखिन्छ । तर, पहिले नै काम सम्पन्न भइसकेका कतिपय आयोजना तथा निर्माण कार्यको भुक्तानी पनि असार २५ भन्दापछि हुने भएकाले यसबेला बजेट खर्च उच्च हुने मन्त्रालयको दाबी छ ।

राजस्व संकलन लक्ष्यभन्दा अझै टाढा
यता सरकारले लिएको लक्ष्य अनुसारको राजस्व संकलन गर्न अन्तिम दिन २३ अर्ब २५ करोड रुपैयाँ राजस्व उठाउनुपर्ने भएको छ । चालू आर्थिक वर्षको अन्तिम दिन बाँकी हुँदा सरकारी खातामा लक्ष्यको ९८.८१ प्रतिशतमात्र राजस्व उठेको देखिएको हो ।
बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभइ धेरै विनियोजन भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संशोधित अनुमानअनुसार पनि राजस्व नउठ्ने देखिएको छ । ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले शनिबार साँझसम्म ७ खर्ब ६ अर्ब ७६ करोड रुपैयाँमात्र संकलन गरेको छ ।

बजेट घाटा साढे २ खर्ब
शनिबार साँझसम्म सरकारको कूल बजेट घाटा २ खर्ब ५३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार ०३:४०