सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाको तरकारी बुटवलसम्म, व्यावसायिक खेतीतर्फ किसान आकर्षित

उमा केसी । रोल्पा । दक्षिण रोल्पाका किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।
गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ, रोल्पा त्रिवेणी–३ लिङदुङका पुनाराम घर्तीले भने, ‘नगदै हातमा पर्ने भएकाले दैनिक घरव्यवहार चलाउन समेत सजिलो भएको छ ।’
‘तरकारीको बिक्रीबाट प्राप्त हुने रकमले केटाकेटी पढाउन र स्वास्थ्योपचार गर्न सहज भएको छ,’ उनले भने, ‘घरव्यवहारको खर्च कटाएर बाँकी हुन आउने रकम गाउँकै सहकारीमा जम्मा समेत गर्ने गरेको छु ।’ गोलभेँडा, बन्दा, भेडेखुर्सानी जस्ता तरकारीको व्यावसायिक खेती गर्ने घर्तीको घरमै तरकारी खरीद गर्न गाडी आउने भएकाले डोकोमा बोकेर बजार लैजाने समस्या पनि टरेको छ ।
‘बारिको तरकारी टिपेर घरमा लान्छौं, घरबाटै गाडीले किनेर लैजान्छ,’ घर्तीले भने, ‘शुरु शुरुमा बजारको निकै समस्या हुन्थ्यो, डोकोमा बोकेर लैजानुपथ्र्यो, अहिले घरमै गाडी आएर तरकारी किनेर लैजाने भएकाले सहज भएको छ ।’ तरकारी उत्पादन गर्ने प्रविधि सिकेर निर्वाहमुखी कृषिबाट व्यावसायिक खेतीतर्फ लागेका छौं, त्रिवेणी गाउँपालिका–३ की जयकली बुढाले भने, ‘ठूलो परिमाणमा खेती गर्दा कहिलेकाहीँ रोग आएर सखाप पार्ने गर्दछ भने कहिलेकाहीँ बजार मूल्य अत्यधिक कम हुन्छ ।’
अघिल्लो वर्ष आफूहरुले उत्पादन गरेको बन्दाप्रति किलो रु दुईमासमेत नजाँदा आफूहरुले ठूलो घाटा व्यहोर्नु परेको स्मरण गर्दै उनले बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने गरेको छ भने । किसानको व्यावसायिक सुरक्षामा राज्यले सहयोग गरे कृषि पेशाप्रतिको आकर्षण बढ्न सक्छ, बुढाले भने । त्रिवेणी– ३ का लिङदुङका ३० भन्दा बढी घरधुरीले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी खरीद गर्न दैनिक रुपमा गाडी आउने गर्दछन् ।
सो गाउँमा उत्पादित तरकारी दाङ, वुटबल, भालुवाङ, सल्यानको कपुरकोट जस्ता बजारमा बिक्री हुने गरेको बताइन्छ । युवा पलायनतालाई रोक्न तथा कृषिबाट समृद्धि हासिल गर्न राज्यले किसानलाई प्रोत्साहन पुग्ने कार्यक्रम गर्नुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताए । सके निःशुल्क, नसके सुपथ मूल्यमा मल बीउ उपलब्ध गराए मात्र किसानले बाहिर बजारमा प्रतिस्पर्धा गर्नसक्ने बुढाको भनाइ छ ।
भारतीय बजारमा उत्पादित तरकारीसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न सके मात्रै यो व्यवसाय टिकाउ गर्न सकिन्छ, यसका लागि किसानलाई राज्यको सहयोग चाहिन्छ, बुढाले भने । ‘कृषिमा आत्मनिर्भर बनाउनका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भने । ‘वर्षेनी हजारौंका संख्यामा रोल्पाली युवा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि भएपनि व्यावसायिक कृषिमा जोड दिनुपर्छ ।’
कृषकलाई प्रविधि र बजारीकरणमा सहयोग गरिरहेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । ‘बजारीकरणका लागि तरकारी संकलन केन्द्रको स्थापनामा सहयोग गरिएको छ,’ श्रेष्ठले भने, ‘जिल्ला कृषि विकास कार्यालय रोल्पाको रु ५ लाख, वडा कार्यालयको रु दुई लाख र स्थानीय समुदायको रु एक लाख गरी कुल रु आठ लाखको लागतमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ ।’ रासस

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ११:०९