सूचनाको शक्ति - The Power Of Information

        

म्युजिक भिडियोको ‘ब्याज’मा धनी भएका ‘सेलिब्रिटी’


काठमाडौं । वैशाख ओरालो लाग्नासाथ लोक गायिकाहरूलाई हतार हुन्छ । अन्यलाई नयाँ बर्ष लागिरहँदा उनीहरूलाई तिज लागिसकेको हुन्छ । नयाँ शव्द, नयाँ गीत, नयाँ सुरताल, नयाँ म्युजिक भिडियोको परिकल्पनामा हुन्छन् । साउन टेक्दाटेक्दै बजारमा गीत ल्याए मात्र विदेशमा जान पाइने, पैसा कमाउन पाइने भएपछि लोक गायिकाहरू यस्तो हतासमा देखिन्छन् ।
लोक गायिका मञ्जु पौडेल असारको मध्यमा तिजको म्युजिक भिडियोको सुटिङमा व्यस्त छिन् । उनलाई यो तिजमा नयाँ गीत बजारमा ल्याउने रहरमात्र होइन, त्यहि गीतमा विभिन्न ठाउँमा प्रस्तुती दिनुपर्ने बाध्यता पनि छ । नेपालबाहेकका ठाउँमा हुने विभिन्न कार्यक्रममा त्यहि गीतमा नेपाली समुदायलाई नचाउनुपर्ने छ ।
पौडेलको मात्र रहर वा बाध्यता यस्तो होइन । लोक गायिकाहरू सुनिता दुलाल, सिन्धु मल्ल, देवी घर्तीमगर, सम्झना भण्डारी लगायतको पनि यस्तै छ । कतिपय विदेशमा बसे पनि गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउनका लागि नेपाल आउँछन् । सस्तो खर्च र मनग्गे आम्दानीको स्रोत भएका कारणले पनि उनीहरू नेपालमा सुटिङ गर्नका लागि आउने गरेका छन् । अमेरिका, अष्ट्रेलिया लगायत युरोपका विभिन्न सहर र ठाउँमा नेपाली समुदायलाई तिजको रमझम गराउनका लागि नयाँ म्युजिक भिडियोका लागि उनीहरू तम्सिन्छन् ।
र, यहि कामको व्याज वर्ष दिनभरी खान्छन् । अर्थात्, उनीहरूको बर्षभरी विभिन्न देशको ‘फिरन्ते’ सेवा चलिरहन्छ । जसले गर्जो टार्नेमात्र होइन, मनग्गे आम्दानी गर्दै आफ्नो ‘सेलिब्रिटीनेश’ पनि बढाउने काममा मद्दत गर्दछ । कतिपयलाई तिजको जीत निकाल्नु रहर पनि लाग्छ । राष्ट्रिय सभा सदस्य भएर पनि कोमल ओली रोकिइनन् । उनी पनि तिजको गीत तयारीमा छिन् । अझ अन्यको तुलनामा ओलीको चर्चा तिजमा हुने गरेको छ । ‘पोइला जान पाम’ उनको चर्चित तिज थेगोजस्तो बनेको छ ।
एक वा दुई जनामात्र होइन, लोक भाकालाई निरन्तर टिपेर गीत निकालिरहेका सय भन्दा बढि गायकगायिकको काम नै यहि हो । लन्डनका एक आयोजक भन्छन्, ‘यहाँ नेपाली लोक गीतको बजार बलियो छ । लोक कलाकारको माग बढि हुन्छ । यसकारण तिजमा त झनै नयाँ प्रस्तुती हेर्न चहाने कम छैनन् ।’ एउटा कार्यक्रममा सम्पूर्ण खर्च व्यहोरेर आयोजकले कम्तिमा एक लाख नेपाली रूपैंयासम्म दिने गरेका कारण विदेशी समुदायबीच लोक गायकगायीका प्रख्यात हुन थालेका छन् ।
विदेशमा लोक भाकाको बजार बलियो हुन थालेपछि उनीहरूको आर्थिक हैसियत पनि उकालो लाग्ने गरेको छ । कतिपय लोक गायकगायीकाले विभिन्न देशका स्टेज कार्यक्रमको मिति बुक भइसकेको छ । त्यहि बुक भएको मितिलाई साकार तुल्याउनका लागि पनि उनीहरू आन्तरिक तयारी र नयाँ गीत दिने सुरसारमा लागिसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०७:३१