सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई पक्राउको तयारी, लाहोरको सुरक्षा व्यवस्था कडा

इस्लामावाद । भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ शुक्रबार स्वदेश फर्किंदै छन् । उनी बेलायतको लण्डन शहरबाट पाकिस्तानको लाहोरका लागि प्रस्थान गरेका छन् । पूर्व प्रधानमन्त्री सरिफ शुक्रबार लाहोर विमानस्थलमा अवतरण गर्दै छन् ।
लाहोरबाट प्राप्त समाचारमा जनाइएअनुसार उनलाई पक्राउ गर्ने हल्लाका कारण पनि यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । ठूलो संख्यामा प्रहरी खटाइएको छ भने लाहोर प्रहरीले शहरलाई नै घेरा हालेजस्तो देखिएको अधिकारीहरूले जनाएका छन् । उनलाई शुक्रबार विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गर्न सकिने अनुमान गरिएको छ ।
पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका छन् । स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका छन्, ‘म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरू मलाई पक्राउ गर्न सक्छन् ।’ सरिफलाई १० वर्षको जेल सजायको फैसला हालैमात्र सुनाइएको हो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।
यही जुलाई २५ मा पाकिस्तानमा आमनिर्वाचन हुन लागेको छ । त्यस निर्वाचनको पूर्वसन्ध्यामा भएको यो फैसला अर्थपूर्ण भएको वकिलहरूले बताएका छन् । उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् ।
नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए । भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो । उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । उनीमाथि लागेको आरोप सरिफ र उनका समर्थकहरूले अस्वीकार गर्दै आइरहेका छन् । उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा गलत अभियोग लगाइएको दाबी गर्दै आएका छन् ।
लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो । पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो । रासस/एएफपी

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ११:१२