सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

जाजरकोट । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।
जिल्ला अस्पतालका प्रमुख डा राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताए । भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह भएको हो ।
नगरपालिकाले तलब र भत्ता गरी रु एक करोड ३२ लाख माग गरेकामा हाललाई रु ९५ लाख स्वीकृति भएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलनका कारण सयौं बिरामीले सास्ती खेपेका थिए । कैयौँ बिरामी उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका थिए ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १०:३७