सूचनाको शक्ति - The Power Of Information

        

आँप बिक्री नभएर कुहिन थालेपछि कृषक चिन्तित

सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित हुन् । उत्पादन भएको आँपले बजार नपाएपछि उनलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।
‘गतवर्ष आँप बेचेर रु तीन लाखसम्म आम्दानी गरेका थियौँ, यसपाली आँप बिक्री हुन सकेको छैन,’ वलीले भने । रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैँचामा कुहिएको छ । ‘फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन,’ उनी भन्छन्, ‘आँपबाटै गुजारा चलाउँदै आएका छौँ ।’
आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ । आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीतभण्डारको माग गरेका छन् । ‘आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,’ रामघाटका सुरेन्द्र सिंहले भने ।
भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिष्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताइन् । ‘यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ,’ उनले भनिन् ।
फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले रु तीन करोड बजेट छुट्याएको मन्त्री केसीले जानकारी दिइन् । ‘प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि रु ५० लाख बजेट छुट्याइएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १०:२८