सूचनाको शक्ति - The Power Of Information

        

श्रीमानले दोस्रो विवाह नगरेको भन्दै श्रीमतीले गरिन् आत्महत्या !


पर्वत । महिलाहरुले आफ्नो श्रीमानले अर्को विवाह गर्दा बहुबिबाहको मुद्धा दायर गर्ने, सम्बन्ध बिच्छेद गर्ने र कतिपयले आत्महत्या समेत गर्ने गरेका छन् । तर बागलुङकी एक महिलाले भने श्रीमानले अर्को विवाह गर्न नमानेको भन्दै आत्महत्या गरेकी छिन् ।
जिल्लाको बडीगाड गाउँपालिका–९ निवासी डिलबहादुर मल्लकी ४३ वर्षीया श्रीमती गीता मल्लले गएको आइतबार राति झुण्डिएर आत्माहत्या गरेकी हुन् । छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अर्को विवाह गराउन दबाब दिँदै आएकी गीताले लेखेको ‘सुसाइड नोट’ मा आफु स्वेच्छाले मरेको उल्लेख गर्दै श्रीमानलाई अर्को विबाह गर्न अनुरोध गरिएको छ ।
गीताले उक्त नोटमा विबाह गरेर गुल्मीमा रहेकी एक मात्र छोरीलाई आफू रहुन्जेल श्रीमानले विवाह नगरेको भन्दै आफू मरे पनि वुबालाई अर्को विवाह गर्न सहयोग गर्न अनुरोध गरेकी छिन् । आइतबार साँझ दम्पत्तीले सँगै खाना खाएपछि गीताले श्रीमानको लागि ओछ्यान तयार परिन् । श्रीमान ओछ्यानमा पल्टेपछि आपूm केहिबेर टीभी हेरेर आउने भन्दै उनी कोठाबाट बाहिरिएकी थिइन् ।
सधैँ टिभी हेरेर केही ढिला सुत्ने गीता त्यो दिन भने बिस्तारामा नभएको कुरा डिलबहादुरले बिहान ३ बजेमात्र थाहा पाएका थिए । गीताले आफूबाट थप बच्चा नभएको भन्दै आफ्ना श्रीमानलाई पटकपटक अर्को विवाह गर्न अनुरोध गर्दै आएकी थिइन् । श्रीमानले भने अर्को विवाह गर्न आवश्यक नरहेको भन्दै विवाह गर्न अस्वीकार गर्दै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०४:५४