सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा धान रोपाइँ हुँदै, ३० प्रतिशत रोपाइँ सकियो


बाँके । वर्षा अनुकूल भएकाले यस वर्ष बाँके जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य छ ।
गतवर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको सो कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताए । यसवर्ष बाँकेमा करीव एक लाख १५ हजार मेट्रिकटन धान उत्पादन हुने सो कार्यालयको प्रारम्भिक अनुमान छ । बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्ने बताइएको छ ।
जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०२:२४