सूचनाको शक्ति - The Power Of Information

        

आँप बेचेर कापीकलम, दैनिक ८०० भन्दाबढी आम्दानी

सुर्खेत । बराहताल गाउँपालिका–८ की हिमा रोकाया दिउँसोको समयमा सुर्खेत–जुम्ला सडकमा आँप बेच्ने गर्छिन् । दिनभरि आँप र केरा बेचेको पैसाले उनी कापीकलम किन्छिन् । रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्छिन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेच्ने गर्छिन् ।
आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उनी आँप र केरा बिक्री गर्दै आएकी हुन् । रोकाया मात्र होइन सोही विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसँग बिहान–बेलुका आँप बिक्री गर्छिन् । ‘कापीकलम र नयाँ लुगा किन्न आँप र केरा बिक्री गर्ने गरेकी छु,’ उनले भनिन् ।
हिमा र सपना मात्र होइन वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत हुँदै दैलेख जुम्ला जाने सडक वरपरका गाउँका विद्यार्थी आँप, मकै र केरा बिक्री गर्दैआएका छन् । उनीहरुलाई अभिभावकले नै आँप बेच्न पठाउने गरेको स्थानीयवासी ताराकेशर गौतमले बताए । सडकमा बालबालिका गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बेचेर आम्दानी गर्दै आएका छन् ।
उनीहरुले त्यही पैसोले नुन, तेल, चामल र दालको जोहो गर्ने गरेका छन् । अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०१:३१