सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिक पहुँच नहुँदाको पीडा : बर्षौदेखि भेरीको दुषित पानी पिउनुपर्ने बाध्यता, झाडापखालाको समस्या


काशीराम शर्मा/बनगाड (सल्यान) । चाहे वर्षायाम होस्, चाहे अरु कुनै याम, दुषित पानी पिउनुपर्ने बाध्यता हो नाम्राबासीको । बनगाड कुपिण्डे नगरपालिका–१ नाम्राका स्थानीयहरुका लागि स्वच्छ पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा खोपानीको योजना ल्याउन पानीका श्रोत भने नभएका होइनन्, तर राजनीति र विकास पहुँच नभएकै कारण धमिलो पानी पिउन बाध्य छन् उनीहरु ।
नाम्रास्थित गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्मा भन्छन्, ‘आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ ।’ उनका अनुसार नाम्रामा बस्ती बसेदेखि नै दुषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । ‘बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन्,’ उनले भने, ‘हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्छ ।’ वर्षायाममा भेरी नदी पूरै धमिलो हुने भएपछि हुनेले फिल्टर र निम्न नहुनेले कपडामा पानी छान्दै खानुपर्ने बाध्यता रहेको प्रधानाध्यापक शर्माको भनाइ छ ।
प्रधानाध्यापक शर्माका अनुसार खानेपानीको सहज र सस्तो व्यवस्थापन भनेको भेरी नदीको पानीलाई तानेर प्रशोधन गरी वितरण गर्नु नै हो । तर विजुली वत्ती नभएकै कारण त्यो सम्भव भने देखिएको छैन । ‘टाढाबाट आयोजना सञ्चालन गरी खानेपानी ल्याउँदा निकै खर्चिलो हुने भएकाले नदी अथवा भूमिगत पानीलाई नै प्रशोधन गरेर वितरण गर्दा कम लागत लाग्ने देखिन्छ । तर त्यसका लागि विजुली वत्तीको जरुरी भएकाले पहिले विजुली बाल्नका लागि पहल जरुरी छ,’ प्रधानाध्यापक शर्माले भने ।

‘आफूले जान्ने भएदेखि भेरीको पानी बोकेर पिउन थालेको हुँ । बाबु, बाजेले पनि यहाँ भेरी नदीको पानी बोकेरै पिएका हुन् । हिउँदयाम भन्दा वर्षायाममा पिउने पानीको निकै समस्या हुने गर्छ ।’

खानेपानी योजना सञ्चालनका लागि थुप्रै विकल्पहरु भए पनि सरोकारवाला निकायहरुले चासो नदिँदा दुषित पानी पिउनुपर्ने बाध्यता ज्युँका त्युँ रहेको स्थानीयहरुको भनाई छ । निकै पुरानो मुहान सुकेकाले समस्या भएको छ । खानेपानी मुहानै सुकेपछि अब भूमिगत पानीका लागि सवजुली बत्ती जोडेर पहल थाल्नुपर्ने प्रधानाध्यापक शर्माको भनाई छ । स्थानीयले वर्षाको समयमा हिलाम्मे तथा धमिलो पानी पिउने गरेका छन् । प्रधानाध्यापक शर्माका अनुसार खानेपानी लिनका लागि भेरी नदीमा जाने धेरैले ज्यान समेत गुमाउनु परेको छ ।
यहाँका सबै घरहरुमा भेरी नदीकै फोहोर पानी प्रयोग हुने गर्दछ । महिनैपिच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने गरेको प्रधानाध्यापक शर्माको भनाइ छ । यहाँका स्थानीयवासीले धेरै पटक केन्द्रीयस्तरका नेतादेखि जिल्लास्तरका नेता अनि कर्मचारीलाई खानेपानीको समस्याको विषयमा जानकारी गराए पनि सबैले हुन्छ भनेर आश्वासन मात्रै दिने गरेको स्थानीहरुको भनाई छ । नाम्राका करिब ५५ घरधुरी भेरीको फोहोर पानी प्रयोग गर्न बाध्य छन् ।
नजिक खानेपानीको मुहान नहुनु टाढाबाट ल्याउने पानी सानोतिनो रकमले नपुग्ने भएपछि वर्षौदेखि नाम्रावासी खानेपानीको समस्याबाट वञ्चित हुँदै आएको अर्का स्थानीय युवा कृष्ण शर्माले बताए । ‘दुई वटा मुहानमा सर्वे भएको छ । नजिकै रहेको बिउनारा भन्ने स्थानको मुहान करिब सुकिसकेकोले सम्भव छैन,’ शर्माले भने । धेरै टाढा रहेको चिउरी गौडा खोलाको मुहानबाट खानेपानी योजना सञ्चालका लागि सम्भावना भए पनि धेरै खर्चिलो भएका कारण योजना सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त भने छैनन् ।


फोहर पानी पिउदा रुघाखोकी, झाडापखाला, शरिर चिलाउने लगायतका रोगले समेत सताउने गरेको छ । प्रधानाध्यापक शर्माका अनुसार पिउने पानीको समस्याका बारेमा सबै सामु अनुरोध गरेको तर समस्या कसैले सुनेनन् । वर्षातमा गाउँबाट भेरी नदिमा पानी लिन झरेका महिला बालबालीकालाई भेरी नदिले वगाएर ज्यान समेत लिने गरेको छ । पिउने पानी लिन जाँदा गाउँदेखि भेरी तल परेकोले बाटो अफ्ठेरो हुनुका साथै जोखिम मोलेर हिड्नुपर्ने उनीहरुले बताएका छन् ।
गाउँभन्दा माथितिरका बस्तीहरुमा नदिमै ट्वाइलेटका पाइपहरुबाट शौच पास हुने गरी चर्पी निर्माण गरेका गरिएका छन् । भेरी नदिमा जताततै फोहर फाल्ने कार्यले व्यापकता पाएको छ । जनसंख्या वृद्धिसँगै दिन प्रतिदिन भेरी नदिको पानी निकै प्रदुषितसमेत हुँदै गएको छ । नदि छेउछाउँका स्थानीय वजारको लागि भेरी नदि फोहर पखाल्ने डम्पिङ्ग बनेको छ । त्यहि प्रदुषित पानी पिउन नाम्राका स्थानीय नागरिक बाध्य छन् । पानी भर्दाभर्दै मरेका पशु भेरी नदिमा वगाए ल्याउँछ, तर आफ्नै आँखाले देखेको फोहर पानी पीउन वाध्य भएको अधिकांस नागरिकले दुखेसो पोखेका छन् ।
स्थानीयहरुका अनुसार बनगाड कुपिण्डे नगरपालिका मेयर गोविन्द पुनसँग पटक पटक खानेपानी समस्या समाधानका लागि पहल थाल्न आग्रह गरे पनि सुनुवाई नगरेको स्थानीयहरुको आरोप छ । बनगाड कुपिण्डे नगरपालिकाभित्र खानेपानी व्यवस्थित गरिने भन्दै मेयर पुनले आश्वासन दिने तर त्यसका लागि पहल नगर्दा नगरपालिकाको हेपाहामा परेको स्थानीयहरुको गुनासो छ । नगरवासीलाई शुद्ध पानीको पहुँचमा ल्याउन नगरपालिकाले कस्ता योजनाहरु चलाइरहेको छ भन्ने विषयमा मेयर गोविन्द पुनलाई उनको मोवाइन नम्बर ९८५७८४४५०० मा पटक पटक फोन गर्दा समेत सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार ०५:५४