राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माण
।
बाँके । नेपालगन्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।
त्यसै क्रममा अहिले नेपालगन्ज रंगशालास्थित कबर्ड हलको स्तरोन्नतिको काम भइरहेको छ । रंगशाला क्षेत्रको बाहिर रहेको कबर्ड हलको छाना आधुनिक बनाइएको छ भने फ्लोरिङ गर्ने काम शुरु गरिएको मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
त्यसैगरी, रंगशालामा झण्डै रु १८ करोडको लागतमा पौडी पोखरी र रु २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रंगशाला निर्माण भइरहेको छ । क्षेत्रीय अध्यक्ष ओलीका अनुसार, पूर्वाधार निर्माण अन्तर्गत रंगशालामा रु सात करोडको लागतमा ट्र्याक एण्ड फिल निर्माणको काम पनि धमाधम भइरहेको छ । आठांै राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी मंसिर तेस्रो सातादेखि नेपालगन्जमा आयोजना हुने बताइएको छ ।
।