सूचनाको शक्ति - The Power Of Information

        

दुर्गमको विद्यालयमा विद्युतीय हाजिरी, शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा

सुर्खेत । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ । सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर दूरीमा अवस्थित उक्त विद्यालयले यही १५ गतेदेखि विद्युतीय हाजिरी शुरु गरेको हो ।
विद्युतीय हाजिरी उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सुगमका विद्यालयले गर्न नसकेको काम दुर्गमको विद्यालयले गरेर देखाउँदा भित्रैदेखि गर्व लागेर आएको बताए । इच्छाशक्ति भए भूगोल बाधक हुँदो रहेनछ भन्ने उदाहरण कालिका मावि परिवारले देखाएको छ, व्यवस्थापन समिति अध्यक्ष लगायत शिक्षक र सम्पूर्ण अभिभावकलाई हार्दिक धन्यवाद दिन चाहान्छु,’ अध्यक्ष न्यौपानेले भने ।
विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाले आगामी दिनमा आवश्यक सहयोग गर्ने उनले वचन दिए । सो माविका व्यवस्थापन समिति अध्यक्ष सुरतबहादुर शाहीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन, शिक्षकलाई नियमित, अनुशासित र समुदायप्रति जिम्मेवार बनाउन विद्युतीय हाजिर शुरु गरिएको जनाए ।
उनले विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारी सबैले बिहान ९ः४५ र बेलुका ४ः१५ बजे दुईपटक औँठा छापको विद्युतीय हाजिरी लगाउने पद्धति बसालिएको बताए । उनले विव्यसको अगुवाइ, शिक्षकको सक्रियता र समुदायको महत्वपूर्ण सहयोगबाट यो काम गर्न सकिएको बताए ।
यसको साथै कृषि प्राविधिक शिक्षा अध्ययन शुरु गर्ने उद्देश्यका साथ समुदायले १३ रोपनी क्षेत्रफलको जमीन निःशुल्क दिने प्रक्रियामा रहेको उनको भनाइ थियो । विद्यालय कक्षा १० सम्म भए पनि मावि शिक्षक दरबन्दी नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले जनाए ।
‘अहिले माविमा नौजना शिक्षकलाई निजी स्रोतबाट पाल्दै आएका छौँ । निमाविमा तीन राहत र प्राविमा तीनजना मात्र दरबन्दीका शिक्षक छन्,’ अध्यक्ष शाहीले भने । उनले दुर्गमको शिक्षा अवस्थामा राज्य बेखबर रहेको दुखेसो गरे ।
विद्यालयले विद्युतीय हाजिरीको अभिलेखीकरण गर्न, प्रोजेक्टरद्वारा सार्वजनिक सुनुवाइ गर्न तथा अन्य गतिविधि सञ्चालनका लागि कम्प्यूटर अपरेटर राखेको छ । विद्युतीय हाजिरी लगायत अन्य सबै काम गर्न २४ सैँ घण्टा विद्युत्को व्यवस्था गरिएको र त्यो नहुँदा विकल्पमा सोलारको पनि प्रबन्ध मिलाइएको जनाइएको छ ।
माविका प्रधानाध्यापक मानबहादुर शाहीले राज्यको पर्खाइको पीडा सहन नसकेर समुदायका नागरिकले कमाइको केही अंश तिरेर विद्यालय सञ्चालन गर्दै आएको बताए । विद्युतीय हाजिरीले शिक्षकको नियमितता बढाउने र आफ्ना नानीहरुको शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा अभिभावकले गरेको प्रधानाध्यापक शाहीको भनाइ थियो । उनका अनुसार हाल उक्त विद्यालयमा १५ शिक्षक, तीन कर्मचारी कार्यरत र ४७४ बालबालिका अध्ययनरत छन् । रासस

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०५:३३