कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राउटेले ‘हप्काए’ (भिडियोसहित)
।
सुर्खेत । कर्णाली प्रदेशका सुर्खेत, दैलेख लगायतका जिल्लामा घुमन्ते जीवन बिताउने राउटेले मुख्यमन्त्रीलाई हप्काएका छन् । जंगल फडानी नगर्न र गुना, बाँदरको सिकार नगर्न मुख्यमन्त्रीले सुझाव दिँदा मुख्यमन्त्रीलाई राउटे मुखियाले हपारेका हुन् ।
यस्तै नेपाली नागरिकता लिएपछि मात्रै राज्यबाट पाउने सुविधा पाउने भएकाले नागरिकता लिनका लागि गरेको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । मुख्यमन्त्रीको आग्रहपछि राउटे मुखियाले प्रश्न गरे, ‘वनमा बस्ने गुना, बाँदर, बाघ भालुले पनि के नागरिकता नै बनाएका छन् र ? यो देशमा बस्ने भनेपछि देशका नागरिक त्यसै भैगो त ।’ यो संवाद साँच्चिकै मुख्यमन्त्री र राउटे मुखियाबीचको नभई सुर्खेतमै बनेको मेरो कर्णाली प्रदेश नामक लघुचलचित्रमा कलाकारहरुले गरेको संवाद हो ।
बालकृष्ण सुनारको लेखन तथा अकवर खानको निर्देशनमा तयार भएको लघु चलचित्रमा राउटे समुदायको चालचलन, रितिरिवाज, संस्कार र संस्कृतिका विषयमा झल्काइएको छ । खासगरी लघुचलचित्रमार्फत् कर्णाली प्रदेशलाई सुखी, समृद्ध र समतामूलक बनाउनुपर्ने र राउटेलाई पनि राज्यको मूल धारमा ल्याउनका लागि पहल गर्नुपर्ने सन्देश दिइएको लेखक सुनारले बताए ।
निर्देशक खानका अनुसार लघु चलचित्रमा सुर्खेतका अग्रज कलाकार पुरनसिं विष्ट राउटे मुखियाको भुमिकामा हुनुहुन्छ भने पत्रकार दीपेन्द्र ओलीलाई मुख्यमन्त्रीको पात्रमा अभिनय गराइएको छ । काँक्रेविहार मुभि हाउसले तयार गरेको लघु चलचित्रमा जीवन विसी, खगेन्द्र केपी, गीता कटुवाल लगायतको समेत अभिनय रहेको छ । हेर्नुहोस् भिडियो :
।