सूचनाको शक्ति - The Power Of Information

        

पूर्वराजा ज्ञानेन्द्रको नेपालगन्जमा बास, उत्तरप्रदेश मुख्यमन्त्री योगी आदित्यनाथलाई राजपरिवारको निम्तो


बाँके । शनिबार ७२ वर्ष लाग्दै गरेका पूर्वराजा ज्ञानेन्द्र सपरिवार नेपालगन्ज पुगेका छन् । नेपालगन्जमै जन्मोत्सव मनाउन लागेका ज्ञानेन्द्र त्यहाँको सोल्टी होटलमा परिवारसहित बसेका छन् । नेपालमा राजतन्त्रको पुनःस्थापनाको अभियान नै सञ्चालन गर्दै जन्मोत्सवका दिन उनले विशेष घोषणाको तयारी गरेका छन् ।
नातीनातिनासहित पत्नी पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, बुहारी पूर्वयुवराज्ञी हिमानी शाहसहित बुधबार बेलुका ज्ञानेन्द्र नेपालगन्ज पुगेका थिए भने विभिन्न जिल्लामा राजतन्त्र स्थापनाको अभियानको नेतृत्वसहित पूर्वयुवराज पारस शाह स्थलमार्ग हुँदै नेपालगन्ज पुगिसकेका छन् ।
भैरहवामा बुधबार नागरिसँग भेट गर्दै पूर्वयुवराज पारसले राजतन्त्र स्थापनाका लागि नागरिकको सक्रियतासहितिको लगाव आवश्यक रहेको बताएका थिए । गोरखा, मनकामना, पोखरा, भैरहवामा राजतन्त्र पुर्नस्थापनाको आवाज उठाउँदै शिव सेना नेपालसहित विभिन्न धार्मिक संघ संगठन र अनुष्ठानका प्रतिनिधिको नेतृत्व पारसले गरेका थिए ।
‘यो जन्मोत्सव मात्र नभएर राष्ट्रिय एकताको सन्देश दिने अभियान पनि हो । राष्ट्रहित, हिन्दु धर्मको रक्षाका लागि विभिन्न जिल्लाको दौड सकेर नेपालगन्ज आइपुगेका छौं’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले भने, ‘यसबीच हामीले कर्मनिष्ठ पुस्तकको पनि प्रचार गरेका छौं । नागरिकको हातमा बाँडेका छौं ।’
योगी नरेन्द्रनाथबाट प्रकाशित गरिएको पुस्तकमा धर्मसत्ता, राजसंस्था, राष्ट्रवादका विषयमा उल्लेख गरिएको छ । योगी गुरु नरहरीनाथले तत्कालिन महाराज महेन्द्र वीर विक्रम शाहको विचारको शैलीलाई पुस्तकमा समेटेका थिए ।
उता परिवारका सबै सदस्यलाई ज्ञानेन्द्रले अभियानको जिम्मा दिएका छन् । पूर्वयुवराज्ञी हिमानी शाहले राजसंस्था र हिन्दु धर्मको रक्षाका लागि सामाजिक अभियानको जिम्मेबारी पाएकी छन् । स्रोतका अनुसार हिमानीसहित पारसले पनि नेपालगन्ज सोल्टीमै रात काटेका छन् ।
राजपरिवार र त्यसको अभियानमा लागेका गेरुबस्त्रधारी प्रभञ्जन सिंहलगायतका धार्मिक गुरुहरू पनि नेपालगन्ज पुगेका छन् । पूर्वराजाको जन्मोत्सवमा सहभागी हुन भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउन सक्ने बताइएको छ । पूर्वराजाले योगी आदित्यनाथलाई पनि निम्तो पठाएका थिए ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १०:४६