सूचनाको शक्ति - The Power Of Information

        

आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि आमाद्वारा गोली हानी छोराको हत्या


बीबीसी । अमेरिकामा एक आमाले आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । ९२ वर्षीया आमाले ७२ वर्षका छोराको गोली हानी हत्या गरेकी हुन् । यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखका दिन भएको हो ।
पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती आमाले रिस थाम्न नसकी छोरालाई गोली हानिदिइन् । घटनापछि एना मे ब्लेसिंगले भनिन्, ‘तिमीले मेरो जीवन बर्बाद गरिदियौ, तिम्रो जीवन बर्बाद गरिदिने पालो मेरो ।’
आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी एनाले र छोराको हत्या गरेपछि आफू पनि आत्महत्या गर्न चाहेको जानकारी दिइन् । छोराले आफ्नी आमासँग बस्न मुश्किल भएको भन्दै उनलाई वृद्धाश्रम लैजान चाहन्थे । पुलिसका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् ।
बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन् । पुलिस जब घटनास्थल पुग्यो तब उनको छोराको मृत्यु भइसकेको थियो । त्यसपछि ब्लेसिंगले छोराकी ५७ वर्षीया प्रेमिकामाथि बन्दुक तेर्साइन् तर उनका छोराकी प्रेमिका त्यहाँबाट भाग्न सफल भइन् र पुलिसलाई उक्त घटनाबारे जानकारी दिइन् ।
पुलिस जब घटनास्थल पुग्दा ब्लेसिंग आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन् । उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने बताइन् । उनीमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ भने जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १०:३६