सूचनाको शक्ति - The Power Of Information

        

मार्क्सको द्विशतवार्षिकीमा प्रदेश स्तरीय गोष्ठी तथा प्रशिक्षण नेपालगन्जमा हुँदै

बाँके । कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा नेपालगन्जमा दुईदिने प्रदेश स्तरीय गोष्ठी तथा प्रशिक्षण हुने भएको छ । आजको मार्क्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद विषयक गोष्ठी तथा प्रशिक्षण शुक्रबार र शनिबार हुने भएको छ ।
प्रदेश स्तरीय गोष्ठी तथा प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपाका नेता घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता प्रदिप गिरी, बामपन्थी नेता गणेश शाह, नेकपाका नेता राम कार्की लगायतले विचार तथा प्रशिक्षण दिने नेकपाका नेता एवं द्विशतवार्षिकी कार्यक्रमका संयोजक ठाकुर गैरेले जानकारी दिए ।
गैरेका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको छ । प्रशिक्षण कार्यक्रममा प्रदेश पाँचका नेकपाका नेता कार्यकर्ताका साथै बामपन्थी विचारधारा बोक्ने १२ सयभन्दा बढीको सहभागिता हुने द्विशतवार्षिकी कार्यक्रमका संयोजक गैरेले जानकारी दिए । नेपालगन्जको सिद्धार्थ कजेटमा आयोजना हुने कार्यक्रममा सहभागि हुन वामपन्थी विचारधारा बोक्ने तथा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका सबै कमिटीका केन्द्रीय, जिल्ला, क्षेत्र हुँदै गाउँ कमिटीसम्मका पदाधिकारी सहभागि हुन अपिल गरिएको नेकपा बाँकेका नेता प्रमोद धितालले जानकारी दिए ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार ०६:२०