सूचनाको शक्ति - The Power Of Information

        

बर्सेनि पहिरो, ‘मृत्यु–मार्ग’को त्रास उस्तै


विनोद शाही । सुर्खेत । मंगलबार सुर्खेत बसपार्कबाट घर जान बस चढ्दै गर्दा कालिकोटको तिलागुफा नगरपालिका–६ जुविथाका पवन कार्की चिन्तित देखिन्थे । आइतबारदेखि निरन्तर परिरहेको झरीका कारण पहिरोले सडक अवरुद्ध भई बाटोमै अलपत्र परिएला कि भनेर उनी पिरोलिएका थिए ।
कार्कीले वर्षातको समयमा यात्रा गर्दा हरेक वर्ष कर्णाली राजमार्गमा सास्ती खेप्दै आएका छन् । वर्षातको समयमा यो राजमार्गको दर्जनौं ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध हुने गरेको छ । पहिरोका कारण राजमार्ग छिचोल्नै सास्ती हुने गरेको अनुभव उनीसँग छ ।
‘हरेक वर्ष पहिरोले सडक अवरुद्ध पार्छ,’ उनले भने, ‘हिजोदेखि नै कतिपय स्थानमा पहिरो गएको छ रे, थाहा छैन घरसम्म पुग्न कति दुःख झेल्नुपर्ने हो ।’ वर्षातसँगै कर्णाली राजमार्गमा जाने पहिरोले यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीहरुलाई समेत उत्तिकै पिरोल्ने गर्छ ।
सडक सञ्चालनमा आएको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्ग ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको यात्रुहरु बताउँछन् । दैनिक रुपमा सयौं सवारीसाधन सञ्चालन हुने यस राजमार्गमा वर्षातको समय सुरु भएसँगै कतिखेर गाडीमाथि पहिरो खस्छ भन्ने चिन्ताले यात्रु तथा सवारी चालकलाई पिरोल्ने गर्छ ।
यही जोखिमका कारण यो राजमार्ग ‘मृत्यु–मार्ग’ का नामले बदनाम पनि छ । राजमार्गमा पहिरोको सास्तीले स्थानीय यात्रुका साथै यस क्षेत्रको चर्चित पर्यटकीय स्थल रारा लगायतका क्षेत्र घुम्न आउने पर्यटकहरुले पनि समस्या खेप्ने गरेका छन् ।

पहिरोको सिलसिला
आइतबार रातिदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएर कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गतको कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
गगने खोला त्यस्तो ठाउँ हो, जहाँ हरेक वर्ष पहिरो जाने गर्छ । गगने खोलाका साथै एसमोड, सुनार खोला, दहीखोला, घट्टेखोला, कालेखोला, राँचुलीमा वर्षायाममा बर्सेनि पहिरो जाने गरेको छ । यी बाहेक पनि फरकफरक ठाउँमा पहिरो जाँदा यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीहरु बताउँछन् ।
गगने खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी खटिएका छन् । राजमार्गमा नियमितजसो पहिरो जाने भएकाले पहिरो पन्छाउन तयार भएर बस्नुपर्ने अवस्था रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधव अधिकारी बताउँछन् ।
केही ठाउँमा पहिलेदेखि पहिरो खस्ने भए पनि पछिल्लो दुई वर्षयता नयाँ–नयाँ ठाउँमा पहिरो खस्न थालेको अधिकारीले बताए । कमजोर भौगोलिक बनावटका साथै सडक निर्माणका बेला ठूला पहरा फुटाउन ‘ब्लास्टिङ’ गराइएका कारण नयाँ ठाउँमा पहिरो गएर सडक हप्तौं अवरुद्ध हुने गरेको उनी बताउँछन् ।

स्तरोन्नतिमा बेवास्ता
राज्यले कर्णाली राजमार्गलाई ‘वान–वे’ सडकको रुपमा निर्माण गरेयता स्तरोन्नतिमा ध्यान नदिएको गुनासो कर्णालीवासीको छ । ‘सडक साँघुरो छ, त्यसमाथि बर्से्नि पहिरो गएर यात्रा सास्तीपूर्ण हुने गरेको छ,’ कालिकोटका कविराज नेपालीले भने, ‘पहिरो जाँदा राजमार्ग हप्तौंसम्म अवरुद्ध हुँदा पनि वास्ता हुँदैन ।
प्रत्येक वर्ष विकास–निर्माणका नाममा करोडौं खर्च गरे पनि कर्णाली राजमार्गको स्तरोन्नति गर्न सरकारले ध्यान नदिएको उनले बताए । विगत केही वर्षयता सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गमा आउने पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक योजना बनाउन सडक विभागलाई आग्रह गर्दै आएको छ । तर, विभागबाट छिटै समाधान खोज्ने आश्वासन दिने बाहेक प्रभावकारी काम हुन सकेको छैन ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०१:५२