सूचनाको शक्ति - The Power Of Information

        

बुद्ध एयरको एटिआर–७२–५०० नयाँ विमान काठमाडौंमा

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याएको छ । फ्रान्सको जहाज निर्माता एटिआर कम्पनीबाट खरिद गरिएको उक्त विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
योसँगै बुद्धका नौ वटा एटिआर विमान पुगेका छन् । यीमध्ये छ एटिआर–७२ र दुई एटिआर–४२ हुन् । बुद्धसँग दुई बिचक्राफ्ट विमान पनि छन् । फ्रान्सको टुलुज फ्रान्कजल विमानस्थलबाट इटाली, ओमन हुँदै विमान काठमाडौँ ल्याइएको कम्पनीले जनाएको छ ।
त्यस्तै अर्को प्रतिस्पर्धी निजी वायु सेवा कम्पनी यति एयरलाइन्ससँग एटिआर–७२ एक र एटिआर–४२ विमान छन् । अर्को चाँडै भित्र्याउने कम्पनीको तयारी छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थपिएका एटिआर–७२ विमानबाट आन्तरिक गन्तव्यमा उडान भरिने जानकारी दिए । बुद्धले हाल १३ गन्तव्यमा उडान भरिरहेको छ ।
बुद्धले भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ बुद्धले यही असार १५ गतेदेखि नेपालगन्जबाट भारतको वाराणसी सिधा उडान शुरु गरेको छ ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १६:४८