सूचनाको शक्ति - The Power Of Information

        

कम्यूनिष्ट राजनीतिबाट थकित बामदेव ! निर्वाचनमा पराजित भएदेखि फर्किएनन् अझै बर्दिया


बाँके । कम्यूनिष्ट राजनीतिमा साढे पाँच दशकदेखि सक्रिय नेकपाका प्रभावशाली नेता वामदेव गौतम गत निर्वाचनपछि थकित बनेका छन् । उनी अन्ततः कम्यूनिष्ट पार्टीको राजनीतिबाट थाकेका छन् । संघीय संसद र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको ७ महिना पुगिसकेको छ । निर्वाचन जितेका र पराजित भएका उम्मेद्धारहरु मतदातामाझ पुगिसकेका छन् ।
आफ्ना मतदातालाई धन्यवाद दिन पनि गाउँ र सहरमा पुगेका छन् । तर गौतम निर्वाचन पराजित भएपछि गृहजिल्ला बर्दियामा पाइलासमेत टेकेका छैनन् । पराजित भएपनि उनलाई मतदान गर्ने हजारौ कार्यकर्तालाई उनले धन्यवाद पनि दिएका छैनन् । निर्वाचनमा पराजित भएलगतै जिल्ला फर्किने र मतदाता तथा पार्टी नेता कार्यकर्तासँग छलफल गर्ने अपेक्षा गरिएको थियो । तर बामदेव पराजित भएदेखि जिल्ला पुगेका छैनन् ।
कतिपय नेकपाका नेता कार्यकर्ता बर्दियाबाट ललितपुरस्थित उनको निवास भैसेपाटीमा पुग्ने गरेका छन् । केही सिमित ब्यक्तिलाई भेटेपनि धेरै कार्यकर्तालाई उनले भेट्न पनि छोडिसकेका छन् । भेट्ने केही नेता कार्यकर्तासँग पनि उनले गुनासो मात्र सुनाउने गरेको एक बर्दियाका जिल्ला नेताले बताए । गौतम बर्दियाका मतदातासँग मात्र नभई आफुभन्दा माथिल्लो तहका नेताहरुसँग पनि रुष्ट बनेका छन् ।
आफुलाई निर्वाचनमा हराउने ब्यक्तिलाई कारवाहीका लागि उनले उजुरी दर्ज गराएका थिए । ति ब्यक्तिमाथी कारवाही नभएको भन्दै गौतम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पनि रुष्ट बनेका छन् । २०७० सालमा जन्मथलो प्यूठानबाट निर्वाचन जितेका गौतम विरलै जिल्ला पुगे । प्यूठानमा असन्तुष्टी बढेपछि उनले अर्काे निर्वाचन बर्दियामा रोजे । तर बर्दियाबाट पनि उनी ७२० मतान्तरले पराजित भए । कांग्रेसका संजय गौतम विजयी मात्र भएनन् देशमै चर्चित बने ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १३:३५