सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा सञ्चालन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइने

प्रदेशसभा सचिवालयले सोमबार नेपालगञ्जमा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नं ५ का उपभामुख कृष्णी चौधरी । तस्बिर : नीरज गौतम/रासस

प्रदेशसभा सचिवालयले सोमबार नेपालगञ्जमा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नं ५ का उपभामुख कृष्णी चौधरी । तस्बिर : नीरज गौतम/रासस


नेपालगन्ज, १८ असार । प्रदेश नं. ५ प्रदेशसभा सञ्चालन प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले प्रदेशसभाको गतिविधि पारदर्शी हुनुपर्ने, सूचनाको प्रवाह निरन्तर भइरहनुपर्ने, सञ्चारकर्मीका लागि समाचार संकलन सहज बनाउनुपर्ने, समय समयमा प्रदेशभरिका सञ्चारकर्मीलाई संसदका समाचार संकलन र लेखनका विषयमा अभिमुखीकरण गराइनुपर्ने सुझाव दिएका थिए ।
सो अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नेपालगन्जलाई प्रदेश सरकारले विकास र समृद्धिको केन्द्रमा राखेको बताइन् । उपसभामुख कृष्णा चौधरीले अहिलेसम्म प्रदेशसभाबाट चार वटा विधेयक पारित भइसकेको जानकारी दिदैं संसद गतिविधिको समाचार लेख्दा यसको प्राविधिक पक्ष, शब्दावलीलाई बुझेर मात्र लेख्न सञ्चारकर्मीलाई आग्रह पनि गरिन् ।
प्रदेशसभा सदस्य आईपी खरेलले प्रदेश सदस्यको भूमिकाबारे आफ्नो अनुभव सुनाएका थिए भने प्रदेशसभा सचिवालयका सचिव डा मानबहादुर विक र प्रवक्ता ईश्वरीप्रसाद शर्माले शुरुवातदेखि अहिलेसम्म प्रदेशसभाका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।

प्रदेशसभा सचिवालयले सोमबार नेपालगञ्जमा आयोजना गरेको सञ्चार अन्तरक्रिया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल । तस्बिर : नीरज गौतम/रासस

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १४:५६