काठमाडौं, १८ असार । आसाममा रहँदा मदिरा विरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौँले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए । बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो ।
कटुवालको ८३ औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा नाट्यकर्मी पुरु लम्सालले बनाएको ‘अनि हरिभक्त फर्केनन्’शीर्षक वृत्तचित्रले सो कुरा बोलेको छ । कटुवालका गीत र कवितामा बेजोड शब्द छन् जसको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ बोलको गीत नारायणगोपालले ३६ औँ चोटिमा मात्र रिकर्ड गरे । उनले नेपालमा साहित्यिक पत्रिकाहरु सम्पादन गर्नाका साथै बहुदलीय व्यवस्थालाई जिताउन सडक कविता क्रान्तिमा पनि भाग लिएका थिए ।
साथीहरुको सङ्गतबाट मदिरा पिउने कटुवालको असल पक्षभन्दा रक्सी प्रकरणको मात्र ज्यादाले चर्चा गर्ने गरेकामा उनका छोरी र अन्य साथीहरु दुःख मान्छन् । कार्यक्रममा आजै जन्मदिन परेकी साहित्यकार माया ठकुरीले आफूलाई कटुवालले नै साहित्यकार बनाएको बताइन् भने रोचक घिमिरेले उनको हराएको रातो डायरी खोज्नुपर्नेमा जोड दिए । वृत्तचित्र निर्माता लम्सालले अर्काे वर्षसम्म कटुवालका नाममा प्रतिष्ठान गठन हुने जानकारी दिए । सो अवसरमा कटुवाल र ठकुरीका नाममा दुई केक काटिएको थियो ।
।