सूचनाको शक्ति - The Power Of Information

        

मुलुकभरका १० स्थान बाढीको उच्च जोखिममा


काठमाडौं, १८ असार । अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १० स्थान उच्च जोखिमयुक्त घोषित भएका छन् । जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षा भएका १० स्थानलाई जोखिमयुक्त भन्दै सतर्क रहन चेतावनी दिएको छ ।
विभागका अनुसार कर्णाली नदीको प्रभावित क्षेत्र चिसापानी र गुराँसे, बबई नदीको प्रभावित क्षेत्र चेपाङ क्षेत्र, गुलरिया, घोराही, पदमपुर र रानीजवँरा, पश्चिम राप्तीको नेपालगन्ज र लमही र नारायणीको रजैया चेतावनी तहभन्दा माथिको वर्षा भइरहेको छ ।
यी स्थानमा न्यूनतम १४५ देखि अधिकतम २१८ मिलिलिटरसम्म वर्षा भइरहेको छ । २४ घन्टाभित्र १४० मिलिलिटरभन्दा बढी वर्षा भएका क्षेत्रलाई विभागले जोखिमयुक्त क्षेत्र घोषणा गर्छ । विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार अबको ७२ घन्टाभित्र मुलुकभरका सबै स्थानमा वर्षा हुनेछ ।
अविरल वर्षासँगै निम्तिन सक्ने क्षति न्यूनीकरण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले वर्षासँगै निम्तिन सक्ने बाढी पहिरोको क्षति न्यूनीकरण र पूर्वाधारको आपतकालीन संरक्षणका लागि उक्त समिति गठन गरिएको जानकारी दिए ।
दुई साताअघि नै यस्तो समिति गठन गरिसकेको जानकारी मन्त्रालयले दिएको छ । मन्त्रालयको जलस्रोत महाशाखा प्रमुखको नेतृत्वमा गठित उक्त समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिँचाइ विभाग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरण सदस्य तथा जलउत्पन्न प्रकोप व्यवस्थापन शाखा प्रमुख सदस्य सचिव छन् ।
अविरल वर्षासँगै बाढी, पहिरोको क्षति बढ्न थालेपछि यसलाई उच्च सतर्कता अपनाई काम गर्न मन्त्री पुनले निर्देशन दिएका छन् । उक्त समितिलाई बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रको जनधनको संरक्षण तथा पूर्वाधारहरूको आपतकालीन संरक्षण गर्न आवश्यक सूचना संकलन गरी नियन्त्रणात्मक उपाय अपनाउने कार्यभार दिइएको छ ।
मन्त्रालयले बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रहरू पहिचान गरी जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग, जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणलाई आ–आफ्नो क्षेत्राधिकारभित्र रही पूर्वतयारी गर्नसमेत निर्देशन दिएको छ ।
मन्त्री पुनले प्रधानमन्त्री अन्तगर्तको विपद् व्यवस्थापन राष्ट्रिय परिषद्लाई सहयोग गर्नेगरी समितिले काम गर्ने बताए । विपद् व्यवस्थापनका लागि प्रदेश तहमा पनि समिति गठन भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार १३:३२