सूचनाको शक्ति - The Power Of Information

        

सेल्फी पोष्ट गर्दै वडाध्यक्ष सुनिलसिंह हमाल लेख्छन्, ‘सरोकारवालाको ध्यान जाओस्’


बाँके, १८ असार । आइतबार साँझदेखि परिरहेको अविरल मूसलधारे वर्षाले नेपालगन्ज उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । नगरको सेतुविक चोक, न्यूरोड, बसपार्क, घरबारी टोल, धम्बोझी, गणेशपुर, फुलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर लगायतका क्षेत्र डुबानबाट प्रभावित भएका छन् ।
नेपालगन्जमा उचित ढल निकासको व्यवस्था नहुनु र भएका नाली पनि फोहरले पुरिएपछि पानीको निकास नभएर वर्षायाममा शहर डुबानमा पर्ने गर्दछ । सडकमा पानी जमेपछि पैदलयात्रु र सवारीसाधनले सास्ती भोग्नुपरेको छ भने होचो क्षेत्रमा बनाइएका घरमा पानी पसेको देखिन्छ । डुवानका कारण मानिसहरुलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ ।
पानीको उचित निकास नभएपछि थोरै वर्षा हुँदा पनि नेपालगन्ज नगरका विभिन्न स्थानहरुमा पानी जमेर ताल जस्तै बन्दै आएको छ । डुवानमा परेपछि स्थानीयबासीहरुले सरकार र नेपालगन्ज उपमहानगरपालिकाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । हरेक बर्षायामसँगै डुवानको पीडा झेल्दै आएको नेपालगन्जले यसपटक पनि सोही पीडा झेल्न थालेको छ ।
स्थानीय निर्वाचनसँगै नयाँ नेतृत्व आएपछि समस्याबाट मुक्ति पाउने आशा गरेका नेपालगन्जबासीका लागि फेरि उस्तै कथा दोहोरिएको छ । उपमहानगरले समयमै ढल तथा नालीहरु सफाई नगर्दा समस्या भएको स्थानीयहरुको दावी छ । ‘नालीहरु भरिएका छन्, उपमहानगरलाई चासो छैन,’ एक स्थानीयले भने, ‘अनि के नेपालगन्ज नडुबेर हुन्छ ?’
पानीको सहज निकास हुने पटकपटक उपमहानगरपालिकाले बताउँदै आए पनि पर्याप्त तयार हुन नसकेको देखिएको छ । सोमबार घरबारीटोलमा तालिएको पानीसहितको सेल्फी पोष्ट गर्दै अध्यक्ष वडा नं. २ का अध्यक्ष सुनिलसिंह हमाल आफैले भनेका छन्, ‘सरोकारवालाको ध्यान जाओस् ।’
उनले पानी तालिनुको दोष उपमहानगरपालिकाको थाप्लोमा हालेर पञ्छिन खोजेका हुन् । अध्यक्ष हमालले यसअघि उपमहानगरपालिकाले नाला सरसफाई नगरे वडास्तरबाट गरिने बताएको भए पनि त्यसो हुन सकेको देखिएन । अध्यक्ष हमालले आफ्नो निरिहपना पोष्टमार्फत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७५, सोमबार ०६:५४