बाँके, १८ असार । आइतबार साँझदेखि परिरहेको अविरल मूसलधारे वर्षाले नेपालगन्ज उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । नगरको सेतुविक चोक, न्यूरोड, बसपार्क, घरबारी टोल, धम्बोझी, गणेशपुर, फुलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर लगायतका क्षेत्र डुबानबाट प्रभावित भएका छन् ।
नेपालगन्जमा उचित ढल निकासको व्यवस्था नहुनु र भएका नाली पनि फोहरले पुरिएपछि पानीको निकास हुन नसकी वर्षायाममा शहर डुबानमा पर्ने गर्दछ । सडकमा पानी जमेपछि पैदलयात्रु र सवारीसाधनले सास्ती भोग्नुपरेको छ भने होचो क्षेत्रमा बनाइएका घरमा पानी पसेको देखिन्छ । डुवानका कारण मानिसहरुलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ ।
पानीको उचित निकास नभएपछि थोरै वर्षा हुँदा पनि नेपालगन्ज नगरका विभिन्न स्थानहरुमा पानी जमेर ताल जस्तै बन्दै आएको छ । डुवानमा परेपछि स्थानीयबासिहरुले सामाजिक सञ्जालमार्फत सरकार र नेपालगन्ज उपमहानगरपालिकाप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।
वर्षेनि डुवानको समस्या झेल्दै आएका न्यूरोड, घरबारीटोल बासीहरुने उपमहानगरका मेयर, उपमेयरलाई डुङ्गा चढेर अनुगमनमा आउन भन्दै व्यङ्ग्यात्मक आग्रह गरेका छन् । पत्रकार विनय दिक्षितले गुड मर्निङ्ग नेपालगन्ज भन्दै सेतुविक चोक डुवानको तस्वीर आफ्नो फेसबुक वालमा राखेका छन् ।
पत्रकार शरण कर्माचार्यले सेतुविक चोक डुवानको तस्वीरसहित फेसबुकमा लेखेका छन्, ‘पानी जहाजको सुरुवात नेपालगन्जबाट गर्ने की ?’ कमेन्टमा सञ्जय सौगातले अब हरेक शहरमा पानी जहाज चल्ने भो सर भनेका छन् भने छवी सापकोटाले हुन्न सर काठमाडौबाट नै गर्नुपर्छ भन्दै कमेन्ट गरेका छन् ।
पत्रकार कर्माचार्यले लेखेको स्टाटसमा दिलु श्रेष्ठले नेपालगन्ज आउन खोजेको सर डुंगा नपाएर आउन सकिएन खोजीमा छु हजुर भन्दै कमेन्टमा लेखेका छन् भने सुन्दर गुरुङ्गले पनि प्राकृतिक विपत हो सर यो नेपालगन्जको अव्यवस्थित शहरीकरणको परिणाम भन्दै कमेन्ट लेखेका छन् ।
पत्रकार विनय दिक्षितले भनेका छन्, ‘सरकारी तवरमा भएको अपराधको प्रतिफल हो यो ।’ हरेक बर्षायामसँगै डुवानको पीडा झेल्दै आएको नेपालगन्जले यसपटक पनि सोही पीडा झेल्न थालेको छ । स्थानीय निर्वाचनसँगै नयाँ नेतृत्व आएपछि समस्याबाट मुक्ति पाउने आशा गरेका नेपालगन्जबासीका लागि फेरि उस्तै कथा दोहोरिएको छ ।
।