सूचनाको शक्ति - The Power Of Information

        

तुलसीपुर उपमहानगरपालिकाका जमीन बाँझो राख्न नपाइने

दाङ, १७ असार । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाकाभित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ । उक्त उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताए ।
उनले भने, ‘वर्षमा एक बालीसमेत नलगाउने बाँझो जमीन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ । उपमहानगरपालिकाको सो नीति ल्याएपछि आफू निकै खुशी भएको वडा नं ६ रजौराकी सुशीला भट्टराईले बताइन् ।
उनले भनिन्, ‘अब वर्षौंदेखि बाँझो रहेका जग्गा पनि संरक्षण हुने र अनावश्यक रूपमा खेतीयोग्य जमीनमा प्लटिङ गर्नसमेत रोक लाग्नेछ ।’ उक्त उपमहानगरपालिका ३८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने यहाँ रहेका धेरै खेतीयोग्य जमीन वर्षौंदेखि बाँझै रहेका थिए ।

प्रकाशित मिति : १७ असार २०७५, आइतवार १४:५४