सूचनाको शक्ति - The Power Of Information

        

एचआइभी संक्रमित समाजमा खुल्न थाले, जिल्लामा ४९ जना एचआइभी संक्रमित

रोल्पा, १७ असार । समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन् । जनचेतनाका कारण संक्रमित खुल्न थालेसँगै जिल्लामा संक्रमितको संख्यामा समेत वृद्धि हुन थालेको छ ।
हरेक वर्ष दुई/तीन जनाका दरले नयाँ संक्रमित थपिँदै गएको रोल्पा प्लसका अध्यक्ष राधा विकले बताए । यस वर्षको माघ महिनामा मात्र तीन जना नयाँ संक्रमित थपिएको विकले बताए । हाल जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये १५ जना कामको सिलसिलामा जिल्ला बाहिर रहेका छन् ।
जिल्लाभित्र रहेका ३४ जनामध्ये २० जना महिला छन् । ‘आफूहरूको सम्पर्कमा आएकामध्ये ३२ जनाले नियमित औषधि सेवन गरे पनि दुई जना भने समाजको डरले औषधि सेवन गर्न मानेका छैनन्,’ अध्यक्ष विकले भने । जिल्लामा संक्रमितमध्ये हालसम्म १४ जनाको मृत्यु भइसकेको रोल्पा प्लसले जानकारी दिएको छ ।
उनले संक्रमितलाई परामर्श दिने तथा नियमित औषधि सेवनका लागि प्रोत्साहन गरेका कारण संक्रमित खुल्न थालेको बताए । बाबु आमाका कारण तीन बालबालिकासमेत एचआइभी संक्रमित भएका छन् भने ३२ बालबालिका प्रभावित भएको बताइएको छ । प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन विभिन्न संघ संस्थाले शैक्षिक सहयोग गरिरहेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७५, आइतवार ०६:४५