सूचनाको शक्ति - The Power Of Information

        

इजाजत नलिएर सञ्चाल गर्ने ट्राभल एजेन्सीमा छापा, तीन एजेन्सीमा ताला

रेनुका गिरी । बुटवल, १३ असार । विना इजाजत र नविकरण नगरेर सञ्चालन भएका बुटवलका ७ वटा ट्राभल एजेन्सीहरुलाई अनुगमन टोलीले छापामारी बन्द गराएको छ । वाणिज्य कार्यालय, पर्यटन कार्यालय सहितको अनुगमन टोलीले मंगलबार बुटवलका विभिन्न ११ वटा टुर्स एन्ड ट्राभलमा अनुगमन गरेको हो ।
अनुगमन गरिएका मध्ये ३ वटा ट्राभल एजेन्सीमा टोलीले ताला लगाएको छ । बाँकी ४ वटा व्यवसायी आफैले बन्द गरेको वाणिज्य कार्यालयका शाखा अधिकृत लक्ष्मण लम्सालले बताए । बुटवल ६ ट्राफिक चोकमा रहेको सुपरस्टार टुर्स एण्ड ट्राभलले ४ वर्षसम्म पर्यटन कार्यालयमा नविकरण नगरेका कारण अनुगमन टोलीले ताला लगाइदिएको छ ।
बुटवल ६ कै बुद्ध एड्भेञ्चर टुर्स एण्ड ट्राभल, राजमार्ग चौराहको रेसुङ्गा टुर्स एण्ड ट्राभल्समा पनि अनुगमन टोलीले सिल गरेको छ । राजमार्ग चौराहको नेपाल मनकामना टुर्स एण्ड ट्राभल्स, राना होलीडेज, इट्टाभट्टी र राजमार्ग चौराहमा दुबै ठाउँमा रहेको सिता देउराली टुर्स एण्ड ट्राभल्समा भने इजाजत लिएर सञ्चालन गर्ने सर्तमा सञ्चालक आफैले व्यवसाय बन्द गरेका थिए ।
उनीहरुले कानून बमोजिम इजाजत लिएर व्यवसाय सञ्चालन गर्न पाउने शाखा अधिकृत लम्सालले बताए । ट्राभल एजेन्सी सञ्चालनको लागि कम्पनीमा राजिष्टारमा दर्ता भएर घरेलु उद्योगमा निवेदन दिनुपर्छ । त्यसपछि अन्तरिक राजस्व कार्यालयमा प्यान अर्थात भ्याटमा दर्ता हुनुपर्छ ।
दर्ता भइसकेपछि पर्यटन कार्यालयबाट इजाजत लिएर मात्र व्यवसाय सञ्चालन गर्न पाइने पर्यटन कार्यालय भैरहवाका निमित्त प्रमुख भीम क्षेत्रीले बताए । केही दिनअघि भैरहवा क्षेत्रका ट्राभल एजेन्सीमा छापा मारी ३ वटा ट्राभल एजेन्सी बन्द गराइएको थियो ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार ०८:५०